भालुवाङ : शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले मन्त्रालय मातहतका निकायहरुलाई मन्त्रालयको निर्देशन अनुसार काम गर्न कडा निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८१/०८२ तेस्रो वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री राणाले मन्त्रालयको मार्ग दर्शन बमोजिम काम गर्न निर्देशन दिँदै राम्रो काम गर्ने कर्मचारीलाई जनताले सम्मान गर्ने बताए ।
राणाले लुम्बिनी प्रदेशका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको भन्दै परेको खण्डमा कार्यालय समयमा मात्र नभइ कार्यालय बाहेकको समयमा पनि काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । प्रगति समीक्षा गोष्ठीमा मन्त्री राणाले खानेपानी तथा सरसफाइ, प्रदेश ऐन तथा खानेपानी, सरसफाइ र स्वच्छता नीति अनुरुप विद्यमान कार्यविधि, निर्देशिका, नियम तथा मापदण्डहरुको संशोधन गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।
ऐन तथा नीति अनुसार कार्यविधि, निर्देशिकाहरु परिमार्जन नगर्दा खानेपानी निर्माणमा स्थानीय उपभोक्ताहरुले ठूलो जन श्रमदान गर्नुपर्ने, वा २० प्रतिशत जनश्रमदान व्यहोर्नुपर्ने लगायत समस्याहरु भएकाले यसको चाँडो समाधान गर्ने मन्त्री राणाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राणाले नीति निर्माणको तहमा आइपरेका समस्या समाधानका लागि आफ्नो तर्फबाट प्रयत्न गरिने र नागरिकलाई स्वच्छ र सुरक्षित पानीको प्रबन्ध मिलाउन फिल्डमा खटिने कर्मचारीले पनि त्यसरी नै काम गर्नुपर्ने बताए ।
‘नीतिमा मैले कहाँ के गर्नुपर्छ ? म गर्छु’ मन्त्री राणाले विश्वस्त तुल्याउँदै भने ‘जनताको काम गर्ने नजिकमा तपाई हुनुहुन्छ, जनताको तालि गाली दुवै कर्मचारीले खानु भएको छ । यसै अनुसार नै काम गरेर अगाडि बढ्नुपर्छ ।’
मन्त्री राणाले हरेकको आ–आफ्नो पदीय दायित्व रहेको र हरेकले आफ्नो दायित्व जिम्मेवारपूर्वक सम्पादन गर्नुपर्नेमा जोड दिए ।
तेस्रो वार्षिक प्रगति समीक्षा गोष्ठीमा योजनाको जिल्लागत विवरण, योजनागत वार्षिक प्रगति, योजना कार्यान्वयनको अवस्था, हालसम्म काम नभएका योजनाहरुको संख्या, चालु आर्थिक वर्षमा शहरी विकास भवन कार्यालयहरुले गरेका ठेक्का सम्झौताहरु तिनीहरुको प्रगतिका विषयमा मन्त्रालयमा छलफल भएको शहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनीका महाशाखा प्रमुख गुणानिधि पोख्रेलले जानकारी दिए । मातहतका कार्यालयको बेरुजु र बेरुजु फछ्र्यौटको अवस्था, योजनाको समस्या, प्रशासनिक समस्या लगायत विषयमा पनि छलफल गरिएको खानेपानी मन्त्रालय लुम्बिनीका सचिव बासुदेव पौड्यालले बताए । खानेपानी मन्त्री राणाको अध्यक्षतामा भएको गोष्ठीमा १२ जिल्लाका खानेपानी कार्यालयका प्रमुखहरु, शहरी विकास भवन कार्यालयका प्रमुखहरु, मन्त्रालयका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।