नेपालगन्ज : नेपालगञ्जको भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौंको सहकार्यमा मंगलबारदेखि उक्त सेवा अस्पतालमा सुरु भएको हो ।
लुम्बिनी प्रदेशमै पहिलो पटक यस्तो सेवा सुरु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले जानकारी दिए । भेरी अस्पतालमा पहिलोपटक मंगलबार पहिलो दिन २ जना बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको उनले बताए ।
दुवैजना बिरामीलाई उनीहरूका श्रीमतीले मिर्गौला दान गरेका थिए । यसअघि एक जना बिरामीले भेरी अस्पतालमै डायलाइसिस गराउँदै आएको र अर्को एकजना बिरामीले काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए ।
सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आएका डा. पुकारचन्द्र श्रेष्ठको टोलीसहित भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ सर्जन डा. दीपेश गुप्ता र युरो सर्जन डा. अञ्जित फुयाालसहितको विशेषज्ञ चिकित्सकको टिमले मिर्गौला प्रत्यारोपण गरेको हो ।
त्यसैगरी, नेफ्रोलोजीतर्फ डा. सौरभ हमाल र डा. पारस श्रेष्ठसहितको कार्डियोलोजिष्ट, रेडियोलोजिष्ट जस्ता विशेषज्ञ चिकित्सकको आवश्यक जनशक्ति पनि साथमै रहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले बताए ।