अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीले पालिकाभित्रका कृषकलाई मौरीको घार वितरण गरेको छ ।
नगरपालिकाले सन्धिखर्कलाई महबाट आत्मनिर्भर बनाउन कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो । मौरीपालक कृषक बढ्दै गएका कारण १ सय २१ वटा घार ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।
‘हामीले गत वर्ष १ सय २५ वटा घार वितरण गरेका थियौं,’ भुसालले भने,‘यो वर्ष पनि मौरीपालक किसानको माग अनुसार कार्यक्रमलाई निरन्तरता दिएका छौं । आगामी वर्ष किसानहरुको प्रगति हेरेर कार्यक्रम तय गर्छौं ।’
सन्धिखर्क नगरपालिका वडा नम्बर १ देखि १२ सम्मका कृषकले ५० प्रतिशत अनुदानमा मौरी किसानले घार पाएका छन् ।
मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीपालन सुरू गरिएको सन्धिखर्क नगरपालिका –६ का कृषक श्याम कृष्णबहादुर अधिकारीले बताए ।
‘मौरीपालनबाट फाइदा हुने रैछ,’ उनले भने, ‘व्यावसायिक रूपमा मौरी पाल्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक मौरीपालन सुरू गरेको छु ।’ जिल्लाका मौरीपालक कृषकले क्षेत्र विस्तार गर्दै लगेका छन् ।
अर्घाखाँचीका ६ वटा स्थानीय तहमा उन्नत जातका मौरी पाल्ने किसान दुई हजारको हाराहारीमा रहेको सन्धिखर्क कृर्षि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए ।
स्थानीय जातको मौरीको १ हजारमाथि र उन्नत जातको मौरीको १ हजार घार रहेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले जनाएको छ ।
जिल्लामा वार्षिक रूपमा १८ क्वीन्टल भन्दामाथि मह उत्पादन हुँदै आएको नगरपालिकाका कृषि शाखा प्रमुख कृषि विकास अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।