–ओम बस्नेत
जनकको फोन बज्छ । उताबाट केटीको आवाज आउँछ, “हेलो जनक सर बोल्नु हुँदैछ ?”
“हजुर बोल्दै छु, भन्नु होस् ।”
“तपाईंको पार्सेल आको छ तर, सीओडी (केश ओन डेलिवरी) रहेछ । चार हजारको जुत्ता छ सर ।”
उसलाई थाहा थियो, उसको काम पैसा तिर्ने हो । पार्सेल छोराको हो । जुत्ता लगेर छोरालाई दिन्छ अनि आफ्नो चालीस वर्ष अघिदेखि सम्हालेर राखेको फाटेको जुत्ता हेर्छ । जुन जुत्ता उसकी आमाले साठ्ठी रुपैयाँमा एक मन अदुवा बेचेर त्यो पैसाले अन्ठाउन्न रुपैयाँमा किनी दिएकी थिइन ‘नट्टी बोई’ जुत्ता ।
जनकको अतित यस्तो थियो...
गाउँको प्राथमिक पाठशालाबाट पाँचौं कक्षा उतीर्ण भएपछि छैटौंको निम्ति सडकको बाटो तर अलिक टाडो जानुपर्ने भयो जनकले । सरकारी भएता पनि त्यस स्कूलमा टाई पनि लगाउनु पर्ने रहेछ । धेरै मसक्कत गरे पछि मात्र सिक्यो ।
बिहानको एसेम्बलीमा बीके सरले साफ सफाई र यूनिफार्म इत्यादिको निरिक्षण गर्दा रहेछन् ।
“ओए केटा तँ नयाँ होस् ?”
जनकले “हो सर” भन्यो ।
“टाई खोल गधा खाली खुट्टामा टाई लाउँछस् ?” भन्दा तस्र्यो । डर र सरमले कान रातो भयो । उसलाई थाहा थिएन टाई र जुत्ताको गहिरो सम्बन्ध रहेछ भन्ने कुरा । टाई खोलेर गोजीमा हाल्यो । दिनभरी उसको ध्यान अरु साथीहरुको जुत्तामा गयो । सबको खुट्टा हेर्यो जुत्ता टिलिक्क टल्केको देख्यो । उसले पहिलोपल्ट आफ्नो खुट्टा बेसी भएको महसूस गर्यो । खुट्टा खुमच्यार राख्यो । कक्षादेखि बाहिर निस्केन दिनभरी । पिसाब पनि रोकेर राख्यो । छुट्टी भयो बाहिर निस्किने हतार गरेन । सबै निस्केपछि आफ्नो बाटो लाग्यो ।
घर आएर आमालाई जुत्ताको डिमाण्ड राख्यो । तर, आइतबारसम्म पर्खिनु पर्ने भयो । साग सब्जी र अदुवा बेचेर किन्नुपर्ने स्थिति थियो । चार–पाँच दिन स्कूल नजानु पनि अप्ठ्यारो कुरा थियो, त्यो पनि नयाँ विद्यार्थी अनि नयाँ स्कूल । ठुलो संकट खडा भयो ।
बेलुकी जनक काकाको घर गयो । काका पनि ठीकै बारीबाट आइपुगे । गम्बुट खोलेर खुट्टा धोए । दिनभरी गम्बुट लगाएर होला काकाको खुट्टा खपी नसक्ने गनाउँथ्यो । खुट्टाको पैंताला असाध्यै सेतो भइसकेको थियो, सायद लाबरको गम्बुटले होला । उसले काकालाई त्यही गम्बुट माग्यो एक हफ्ताको लागि । पायो पनि । दाहिनेको बुढी औंला देखिँदो रहेछ तर, ओवर साइज भएकोले त्यति थाहा नपाउने । चाहिएको कालो जुत्ता हो ।
भोलीपल्ट स्कूल गयो ध्यान बुडी औंलीमा थियो । खुमच्याएर राख्नु पर्ने थियो । बी के सरको नजरमा उ छँदै थियो । सर लाइनमा आइपुगेको थाहा पाएर उसले अटेन्शनको पोजिशन लियो ।
सर फेरि उर्ले, “ओए मुर्ख गम्बुटमा टाई लाउँछस् ? टाई खोल । भोलीदेखि ‘नट्टी बोई’ जुत्ता लगाउलास् बुजीस ?”
डराउँदै “हवस सर” भन्यो जनकले ।
दिनभरी अरुको जुत्ता हेर्यो । उसको जुत्ताले अरुकोसँग पटक्कै मेल खाएन । एक त उसको गम्बुट लाबरको पर्यो, अरुको छालाको रहेछ । त्यो दिन निराश भएर घर आयो ।
बेलुकी आमासँग मामाको घर जाने निधो भयो । पैदल जानुपर्ने थियो, धेरै उकालो मामाको घर पुग्दा झमक्कै भयो ।
उसको आँखा मामाको छोराको जुत्तामा पर्यो । उसले चोर्ने विचार गर्यो । सबै सुतेपछि जुत्तामा खुट्टा हालेर नाप्यो ठ्याक्कै मिल्यो । घरदेखि अलिक तल सिरु बारीमा लुकायो बेल्कै । फेरि गएर सुत्यो । धेरै रातीसम्म निन्द्रा लागेन । पहिलोपल्ट ठुलो चोरी गरेको हो । एकपल्ट आमाको थैलीबाट दुई रुपयाँ चोरेर साथीहरुसँग अन्डा मिठाई खाको दिन रामधुलाई भएकै हो । जे भए पनि यो अन्तिम चोरी गर्ने सोच्यो । याद पायो भने के होला भन्ने कुराले पनि सताई रहेकै थियो । बिहान छिट्टो उठ्यो र आमालाई घर जाने हतार लगायो ।
आमा अघि–अघि उ पछि–पछि ओरालो लागे । सिरुबारीबाट जुत्ता निकाल्यो आमाले थाहा नपाई । दुईटा जुत्तामा दुईटा औंला हालेर पछाडि हात गरेर घर आइपुग्यो । आँखा छलेर घरमाथिको अदुवा बारीमा जुत्ता फ्यास्स फ्याँकी राख्यो ।
त्यो दिन चै के बी सरको प्रतिक्षामा थियो जनक । सरले यसो हेरेर “गुड” भनेको सुन्दा सन्चो भयो ।
बेल्का सबै साथी भाईसँग सडकमा जुत्ता बजाउँदै घर आयो ।
घरमा मामाको छोराले पर्खिरहेको रहेछ ।
“ओए जनके साला जुत्ता चोर, तैँले गर्दा आज म स्कूल जानु पाइन् बुजीस ।” भनेर दुइ लात कस्यो । जुत्ता लग्यो ।
आमाको अघि सरमले पानी–पानी भयो । आफ्नो छोराले चोरेको हो भन्ने कुरामा आमालाई पनि विश्वास नै थिएन । जनकलाई आमाले त्यसदिन कुट्नु त परै जाओस् गाली धरी गरिनन् । छोरालाई अङ्गालो हालेर रोएकी थिइन् ।