पटना : नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय मन्त्री गिरिराज सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहारको राजधानी पटनामा सम्पन्न उक्त भेटमा नेपाल–भारत सम्बन्ध, दुई दलबीचको आपसी समझदारी, तथा भविष्यमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
नेता सिंहले मधेश प्रदेशमा हाल परेको सुक्खा संकटबारे चिन्ता व्यक्त गर्दै सो संकटबाट पीडित नागरिकलाई सहयोग गर्न मित्र राष्ट्र भारतसँग अपेक्षा गरिएको बताए । उनले भारतीय केन्द्रीय मन्त्री सिंहसँग भारत सरकारको सहयोगका लागि आग्रह पनि गरेका थिए ।
भेटमा मन्त्री गिरिराज सिंहले नेपाल-भारतबीचको धार्मिक, सांस्कृतिक, पर्यटन तथा आर्थिक सम्बन्धलाई प्रगाढ बनाउँदै आफू निकट भविष्यमा मधेश प्रदेश र नेपाल भ्रमणमा आउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेता वीरेन्द्रप्रसाद सिंहले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्ध दीर्घकालीन रूपमा सबै क्षेत्रमै अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।