काठमाडौं : मलेसियास्थित नेपाली राजदूतावासले सेक्युरिटी गार्डको न्यूनतम तलब कार्यान्वयन नगर्ने कम्पनीको नयाँ मागपत्र प्रमाणीकरण नगरिने बताएको छ । मलेसिया गत फेब्रुअरी पहिलो तारिखदेखि स्वदेशी तथा विदेशी कामदारको तलब त्यसअघिका १ हजार ५०० रिंगेटबाट २०० रिंगेट बढाएर १ हजार ७०० रिंगेट पुर्याएको थियो ।
तर, साढे २ महिना बितिसक्दा पनि बढेको तलब नपाएको सेक्युरिटी क्षेत्रमा काम गर्ने नेपाली कामदारको गुनासो छ । बढेको तलब नदिने कम्पनीहरूलाई नेपाली राजदूतावास तथा मुख्य सेक्युरिटी कम्पनीले बढेको तलब दिनू भनेर लिखित जानकारी दिएको भन्दै अप्रिल महिना सकिन लाग्दा पनि १ हजार ५०० रिंगेट नै दिने गरेको गुनासो छ ।
नेपाली राजदूतावासको शुक्रबार हुने साप्ताहिक कार्यक्रममा सेक्युरिटी कम्पनीहरूले बढेको तलब नदिएको गुनासो धेरै आएको थियो । नेपाली दूतावासले गुनासो समाधानका लागि नयाँ डिमान्ड एटेस्टेसनमा न्यूनतम १ हजार ७०० को पे स्लिप र सेक्युरिटी गार्डको बैंक खातामा तलब जम्मा भएको बैंक ट्रान्सफरको स्लिप अनिवार्य गरिएको बताएको छ । १ हजार ७०० को पे स्लिप र सेक्युरिटी गार्डको बैंक खातामा तलब जम्मा भएको बैंक ट्रान्सफरको स्लिप नभएको मागपत्र प्रमाणीकरण नहुने दूतावासका एक अधिकारीले बताए ।
करिब १ वर्षको प्रतीक्षापछि मलेसियाको रोजगारी शुक्रबार खुल्ला भएको हो । मलेसियास्थित नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै मागपत्र खुल्ला भएको जानकारी दिएको हो । मलेसियाले गत ३१ मेदेखि विदेशी कामदारको नयाँ एप्रुभल रोकेको थियो तर मलेसियामा कार्यरत नेपाली कामदारहरूले नयाँ एप्रुभल खुल्ला भए पनि समयमा तलब पाउने विषयमा समस्या झेल्नुपरेको बताएका छन् । केही नेपालीले ३ र केही नेपालीले ५ महिनादेखि तलब पाउन नसकेको गुनासो गरेका छन् ।
नेपाली राजदूतावासले भने दूतावासमा गुनासो टिपाएको दिन नै कम्पनीमा सम्पर्क गरेर समस्याको समाधान गर्ने भन्दै ०१६२४७२७७७ नम्बर नै सार्वजनिक गरेको छ । मलेसियाले सेवा क्षेत्रतर्फ होलसेल एन्ड रिटेल, सेक्युरिटी गार्ड, ल्यान्ड वेयरहाउजिब, गोल्डस्मिथ्स, टेक्सटाइल, टुरिजम, कृषि क्षेत्रतर्फ फिसरिज र लाइभस्टक तथा प्लान्टेसन र कन्स्ट्रक्सन क्षेत्रको मागपत्र खुल्ला गरेको हो । तर, नेपाली कामदारको मुख्य चासो म्यानुफ्याक्चरिङ क्षेत्रको डिमान्ड कहिले खुल्छ ? भन्नेमा देखिएको छ ।
म्यानुफ्याक्चरिङ क्षेत्रमा नियमित कामका साथै ओभरटाइम काम गर्न पाउने भएकाले म्यानुफ्याक्चरिङ क्षेत्रमा चासो बढेको हो । तर, कोरोनापछि युरोपेली बजार र अमेरिकामा सामान सप्लाईमा सुस्तता आएपछि म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि शिथिलता देखिएको मलेसियाका समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।
हाल मलेसियामा करिब ४ लाख नेपाली वैधानिक रूपमा काम गरिरहेका छन् ।