अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन । नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन उनले जोड दिए । ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने ‘आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैंकले समीक्षा गर्न जरुरी छ ।’
बैंक तथा वित्तीय संस्थाले गुनासो नआउने गरी सेवा प्रवाह गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जिकिर गरे । ‘बैंक तथा वित्तीय संस्थाले लगानी गर्दा एक प्रकारको ब्याजदर निर्धारण गर्ने र पछि ब्याजदरमा वृद्धि गर्ने गरेको गुनासो व्यवसायीहरूको छ, गुनासो नआउने गरी काम गर्न जरुरी छ, यस्ता गतिविधिले व्यवसायीहरूमा पीडा पर्ने गरेको छ’, उनले भने ।
प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । लुम्बिनी प्रदेशका बैंकहरूको अभिभावकका रूपमा राष्ट्र बैंकको कार्यालय रहेको उल्लेख गर्दै सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको उनले बताए । राष्ट्र बैंक बैंकहरूको बैंक भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीहरूको समाधानका लागि राष्ट्र बैंक चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्या(नाकर्षण गराएका थिए ।
त्यस्तै, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएको बताए । राष्ट्र बैंकको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि उनले दाबी गरे । प्रदेश स्तरमा केन्द्रीय बैंकको रूपमा संस्थाको आवश्यकता महसुस गरिएको उनको भनाइ छ । कार्यक्रममा बैंक तथा वित्तीय संस्थामा आवद्ध पदाधिकारी, जनप्रतिनिधि लगायत सम्बद्ध पक्षहरूको उपस्थिति रहेको थियो ।