२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

जनताको सेवासँगै कृषिमा व्यस्त पूर्णबहादुर

सुर्य प्रसाद भुसाल
२०८२ वैशाख १६ गते २०:३१
जनताको सेवासँगै कृषिमा व्यस्त पूर्णबहादुर

प्यूठान : स्वर्गद्वारी नगरपालिका ९ का ३७ वर्षीय वडा सदस्य पूर्णबहादुर घर्ती मगर जनताको सेवासँगै  कृषि पेसामा व्यस्त छन् । बिहान–साँझको समयमा उनले परिवारसँगै काम गरी लटरम्म बेमौसमी तरकारी फलाएका छन् । उनी वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष कुवेत बसेर फर्किएका हुन् । तीन वर्षपछि विदेशबाट फर्किएका घर्ती लामाचौरमा सामान्य तरकारी खेती गर्न थालेका थिए । त्यसपछि भने ऋण धन गरेर कृषि पेशामा निरन्तर रुपमा काम गरिरहेछन् ।

कृषि पेशामा रहँदै गर्दा उनले आर्थिक वर्ष २०७७/७८ मा धानजोन कार्यक्रम प्यूठानले कृषकका लागि अनुदानको सूचना पाएका थिए । त्यसपटक घर्तीले ५०प्रतिशत अनुदानमा १२लाख ५० हजार लुम्बिनी प्रदेश सरकारबाट प्राप्त गरी आठवटा टनेलबाट तरकारी खेती विस्तार गरेको बताउँछन् ।

हाल घर्ती समाजसेवासहित आफ्नो करिब ४ रोपनी र लिजमा गरी १८ रोपनी जग्गामा बेमौसमी तरकारी खेती गरिरहेका छन् । घर्तीको कृषि फर्ममा  काक्रा, भन्टा, खुर्सानी, प्याज, मूला, टमाटर, बन्दा फलिरहेका छन् । उत्पादित तरकारी बजारको कुनै समस्या नभएको घर्ती बताउँछन् । उनले उत्पादन गरेको तरकारी नगरपालिकाले स्थापना गरेको संकलनबाट खपत हुने गरेको छ  । यदि बिक्री नभए पनि नगरपालिकाले न्यूनतम मूल्य निर्धारण गरी त्यो मूल्यमा आफै बजार व्यवस्थापन गर्नाले कृषकमा समस्या नभएको उनले बताए । उनले वार्षिक करिब ६ लाख आम्दानी गर्ने बताएका छन् । 

घर्ती जस्तै कृषकहरुका लागि विभिन्न यान्त्रिकरणका साधन र प्रविधिमा सहयोग गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्यूठानका प्रमुख चुमान गिरिले बताए । 

कार्यालयले थोपा सिँचाइ, टनेल, ड्याङ बनाउने मेसिन सहयोग गरेको छ । किसानको उत्पादनमा वृद्धि गरी स्वदेशमै केही गरौं भन्नेहरुका लागि कार्यालयले विभिन्न प्रविधि हस्तान्तरणका साथै प्राविधिक सहयोग उपलब्ध गराउने गरेको कार्यालय प्रमुख गिरि बताउँछन् । जिल्लामा अहिले विशेष गरी तरकारी, धान र बिउको क्षत्रमा सहयोग गरिएको प्रमुख गिरिले बताएका छन् । 

ADV

सम्बन्धित खबर