२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एसिया कप खेल्ने नेपाली महिला टोलीको बिदाइ

ADV
मध्यान्ह
२०८१ असार २२ गते १९:५४
एसिया कप खेल्ने नेपाली महिला टोलीको बिदाइ

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकामा आयोजना हुने एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जाने टोलीलाई बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले शनिबार टोलीलाई बिदाइ गरेका हुन् ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । एसीसीले सार्वजनिक गरेको संशोधित खेल तालिकाअनुसार जुलाई १९ मा उद्घाटन खेलमा नेपाल र यूएई खेल्नेछन् ।

समूह ए मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

एसिया कपमा सहभागी हुनुअघि नेपाली टोलीले ३ अभ्यास खेलहरु खेल्नेछ । नेपाली टोलीले श्रीलंका विकास टोलीविरुद्ध जुलाई ९, १० र १६ मा ३ खेल खेल्ने क्यानले जानकारी दिएको छ ।

बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङले अहिलेको अवसरलाई उचित सदुपयोग गर्नुपर्ने बताए । उनले कमीकमजोरीलाई सुधार गर्दै आगामी दिनमा उत्कृष्ट क्रिकेट खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले महिला क्रिकेट टिमको प्रदर्शनलाई लिएर सबैमा चासो रहेको बताए । महिला क्रिकेट टिम पहिल्यैदेखि प्राथमिकतामा पर्नुपर्ने भएपनि प्राथमिकतामा राख्न सबै चुकको उनले बताए । उनले महिला क्रिकेटलाई धेरै दबाब नरहेको भएपनि अवसरका रूपमा लिएर उत्कृष्ट नतिजा निकाल्न आग्रह गरे ।

कार्यक्रममा महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले अभ्यास राम्रो गरेको भन्दै नतिजा पनि राम्रो आउनेमा आफू आशावादी रहेको बताइन् । उनले टिम राम्रो रहेको र उच्च मनोबल रहेकाले राम्रो नतिजा ल्याउने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेले खेलाडीहरूले कुनै पनि आफ्नो सपना पूरा गर्ने माध्यम खेललाई बनाउनुपर्ने बताए । यस्ता खेलले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने अवसर हुने बताए । उनले कुनै पनि सपना पूरा गर्नुपूर्व त्यसको लागि अभ्यास जारी राख्नु नै ठूलो कुरा भएको बताए । उनले आफूभित्र भएको क्षमतालाई बाहिर ल्याउने गरी खेल्न सुझाव दिए ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली यूएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका थिए । तर एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर थाइल्याण्ड र नेपाललाई प्रतियोगितामा समावेश गराएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise