२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कांग्रेसको निष्कर्ष- ‘ओली ७६(२) कै प्रधानमन्त्री’

ADV
शिव विक
२०८१ असार २३ गते ०६:५०
कांग्रेसको निष्कर्ष- ‘ओली ७६(२) कै प्रधानमन्त्री’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । उनको नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउने गरी संघीय संसदको सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले आपसमा सहमति गरेका छन् । 

यो पृष्ठभूमिमा शनिवार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले एमालेसँग भएको सहमति अनुमोदन गरेको छ । सहमति अनुसार पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

तर दुई वा दुई भन्दा बढी दलको सरकार बन्ने संविधानको धारा ७६(२) अनुसारका प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाए सबैभन्दा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्ने संविधानको धारा ७६(३) आकर्षित हुने कतिपयको दाबी रहँदै आएको छ । 

कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढलेर बन्ने नयाँ सरकार कसरी बन्छ भन्ने विषयमा समेत बोलेको छ । कांग्रेसले अब नयाँ सरकार पनि संविधानको धारा ७६(२) अनुसारकै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बन्ने निष्कर्ष निकालेको छ ।

दुई दलीय सहमति अनुसार पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

यसअघि २०७८ साल असार अन्तिममा एमाले अध्यक्ष ओली प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतबाट बदर हुँदै गर्दा सर्वोच्च अदालतको परमादेशबाटै हटेका थिए । सर्वोच्च अदालतको परमादेशबाट हटेका ओली पुनः प्रधानमन्त्री भएर सत्तामा पुग्दैछ्न ।

कांग्रेस संसदीय दलले पनि सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने सहमति अनुमोदन गरेको हो । 

यसअघि कांग्रेसको कार्यसम्पादन समितिले एमालेसँग भएको सातबुँदे सहमति अनुमोदन गरेको थियो । यसका साथ कांग्रेसले कांग्रेसले नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार बनाउने आफ्नो अडान स्पष्ट पारेको छ । 

हाल सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका केही नेताले सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्न सक्ने तर्क गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि कतै ७६(३) अनुसारको प्रधानमन्त्रीका लागि आह्वान गर्न सक्ने कतिपयको आशंका छ । यस्तो आशंका चिर्ने प्रयास कांग्रेसले गरेको हो । 

संसदका दुई ठूला दल कांग्रेस (८८ सिट) र एमाले (७( सिट) बीच १७ असारको मध्यरातमा नयाँ सरकार बनाउने सहमति भएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । १६७ सांसद भएका दुई ठूला दलले नयाँ सरकार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्ड स्वतः अल्पमतमा परेका छन् ।

मंसिर २०७९ को चुनावमा कुनै पनि दलको प्रष्ट बहुमत नआएपछि एमाले, रास्वपासहितका दलको समर्थनमा माओवादी दलका नेता प्रचण्ड प्रधामन्त्री बनेका थिए । डेढ वर्षको अवधिमा उनले तीन पटक विश्वासको मत लिइसके ।

२८ असारमा प्रचण्डले चौथो पटक विश्वासको मत माग्दा नपाए राष्ट्रपतिले धारा ७६ (२) अनुसार नै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको आह्वान गर्नुपर्ने कांग्रेस र एमालेको निष्कर्ष छ । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक राजनीतिक स्थिरता कायम गर्नका लागि नयाँ कदम चालिएको बताए । 

‘नयाँ सरकार ७६(२) कै बन्छ । साथमा अब मुलुकमा राजनीतिक स्थिरता पनि कायम हुन सक्छ । यसकै लागि दुई ठूला दल मिलेर सरकार बनाउन लागिएको हो’ उनले पत्रकारहरुसँग भने । 

ADVADV

सम्बन्धित खबर

Advertise