नवलपरासी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीका एक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई नियन्त्रणमा लिइएको अख्तियार बुटवलकी प्रमुख विनीता भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार बनियाँलाई पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुरबाट रंगेहात पक्राउ गरिएको हो । बनियाँले सेवाग्राहीसँग मुद्दा मिलाइदिने आश्वासन दिँदै २ लाख रुपैयाँ माग गरेका थिए ।
आयोगको टोलीले निगरानीपछि उनलाई घुससहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका बनियाँमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ ।