२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

बझाङमा विपद् प्रतिकार्य अभ्यास

सत्यराज सिंह
२०८२ वैशाख २६ गते २२:२९
बझाङमा विपद् प्रतिकार्य अभ्यास

बझाङ : बझाङमा रहेको नेपाली सेनाको शम्शेर गुल्म पानकोटले बझाङमा विपद् व्यवस्थापन अभ्यास संचालन गरेको छ । नजिकिँदो बर्खामा हुन सक्ने विपद्का घटनालाई ध्यानमा राख्दै पूर्वतयारीस्वरूप प्रतिकार्य अभ्यास संचालन गरिएको हो ।

अभ्यासमा जिल्लामा रहेका तीन वटै सुरक्षा निकायसहित रेडक्रस, स्थानीय तह तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । 

मष्टा गाउँपालिका–१, डुग्रीमा अभ्यास सञ्चालन गरिएको शम्शेर गुल्म पानकोटका गुल्मपति रमेश बानियाँले जानकारी दिए । 

विपद्सँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति, नागरिक समाज, नेपाल रेडक्रस, जिल्लामा कार्यरत अन्य सुरक्षा निकाय, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरेर अभ्यास गरेको उनले बताए ।

यो अभ्यासले विपदको समयमा खोज उद्धारमा सहयोग पुग्ने गुल्मपती बानियाँले बताए । 

अभ्यासका क्रममा बाढी र पहिरो पश्चात क्षतीको विवरण संकलन खोज, उद्धार, राहत पहिरोबाट विस्थापितका लागि आपत्कालीन आवास निर्माणसम्बन्धी अभ्यास संचालन गरिएको शम्शेर गुल्म पानकोटले जनाएको छ । 

उक्त अभ्यासमा शम्शेर गुल्म, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, रेडक्रस, जिल्ला अस्पताल र अन्य सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । 

उक्त अभ्यासले मनसुनपूर्वको तयारी र विपद प्रतिकार्य सम्बन्धी जिल्लामा बनेका योजना कार्यान्वयन गराउन र विपदको बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले बताए । 

विपद् जुनसुकै अवस्थामा पनि आउन सक्ने भएकाले पूर्वतयारी र स्थानीय बासिन्दालाई  सँगै राखेर अभ्यास गरिएको उनले बताए । 

ADV

सम्बन्धित खबर