काठमाडौं : राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवा संघले वैदेशिक रोजगार क्षेत्र सुरक्षित हुनुपर्नेमा जोड दिएको छ । कोभिड–१९ ले पारेको असर र समाधान विषयक अन्तरक्रियामा संघका अध्यक्ष अनिल किशोर घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अर्थतन्त्रको विकास मार्फत बेरोजगार समस्याको समाधान गर्न सकिने भएपनि विदेशमा रहेका युवालाई संरक्षण गर्नुपर्ने बताए ।
नक्कली कागजपत्र, गलत प्रक्रियाको अबलम्बन, बिना श्रम स्वीकृति खुला सिमानाबाट असुरक्षित रूपमा जाने गरेको, भिजिट भिसामा जाने गरेकोे तर त्यसलाई रोक्न नसकेको घिमिरेले बताए ।
नेपालका सबैजसो दलले चुनावी घोषणापत्रमा आर्थिक समृद्धि हुने, युवा पलायन रोक्ने, रोजगारीको अवसर जुटाउने, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ सेवा, उर्जा, उद्योग लगायतमा उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना हुने उल्लेख भएपनि व्यवहारमा कार्यान्वयनमा नआएको जस्ता कमजोरी रहेको उनले बताए ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले कोभिडका कारण १ लाख २ हजार नेपाली युवाहरू फिर्ता आएको भन्दै विभिन्न आर्थिक कार्यक्रम सञ्चालन गरिरहेकाले रोजगारी सिर्जना गर्ने बताए । मुलुक शान्तिपूर्ण राजनीतिको मुल प्रवाहमा आएकोले रोजगारी सिर्जना हुने उनले दावी गरे ।
कोभिडका कारणले फर्केका युवा कामदार ५० हजार जनालाई बैंकहरूसँग सहकार्य गरी स्वरोजगार उद्यमशीलताको विकास गर्ने उपाध्यक्ष ढुंगेलले बताए ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोकाले वैदेशिक रोजगार बोर्ड खारेज गरेर बाँजो खेतमा खेतीपाती गर्न शुरूवात गर्नुपर्ने बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले विदेशी भूमिमा नेपाली कामदारको उत्थानका लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले कोभिडले लाखौं फर्किने, भयावह हुने भनेपनि त्यो यथार्थमा परिणत नभएको बताए । उनले हाल स्थायी समाधानका लागि कुनै पनि सरकार जिम्मेवार नभएको अवस्थामा भाषा र भाषणमा लोकप्रिय निर्णय भएपनि कार्यान्वयनमा सहज नभएको बताए ।
सरकारले लाइसेन्स दिने अनि कामकाजको दौरानमा समस्या भए व्यवसायीलाई दलाल भन्न नहुनेमा जोड दिँदै पूर्व अध्यक्ष ढकालले सरकारले सुनेर पनि सुधार गर्न नचाहेकोले वैदेशिक रोजगारमा जाने युवायुवती समस्यामा परेको बताए । बेरोजगार क्षेत्र विकृति विसंगति मुक्त नरहेको स्वीकार्दै पूर्व अध्यक्ष ढकालले बिना अध्ययन तत्कालीन सरकारले फ्रि भिसा र फ्रि टिकट कर्णप्रिय निर्णय गरेको तर त्यो क्षणिक लोकप्रियताका लागि गरिएको बताए ।
तयारी नै नगरी कतारको दोहामा लागू हुने निर्णय काठमाडौंमा गरिएको कारणले कार्यान्वयन नभएको भन्दै पुर्व अध्यक्ष ढकालले दोष व्यवसायीलाई दिएर समस्याको समाधान हुन नसक्ने बताए । सुधारका लागि राजनीतिक दल निकट युवा वर्ग लागिपर्नु पर्नेमा जोड दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies