यो वर्षको मनसुन सिजन सुरु हुनै बाँकी छ । सामान्यतः जुनदेखि अगस्टसम्म मनसुन सक्रिय हुने गर्छ । मनसुनको समयमा अधिक वर्षा हुने भएकाले बाढी, डुवान, पहिरो जस्ता संकटको खतरा हुन्छ । नेपाल जस्तो भू–बनोट रहेको मुलुकलाई सधैं अधिक वर्षा संकट बन्ने गर्छ । पहाडी क्षेत्रमा बाढी पहिरो र समथर भू–भागमा डुवानको समस्या आउने गर्छ । राजधानी उपत्यका सहित पहाडी क्षेत्रकै समथर भू–क्षेत्रमा बाढी, डुवान र पहिरोको एकसाथ संकट रहने गर्छ । वर्षेनि निम्तने यस्तो संकट न्यूनीकरण गर्न राज्य अलग्गै संरचना खडा गरेको छ । तर यस वर्ष मनसुन सुरू नहुनै संकटको संकेत देखिन थालेको छ ।
मनसुन पूर्वको संकेत बीपी राजमार्गमा देखियो । सोमबार काभ्रे लगायत आसपास जिल्लामा मध्यम वर्षा भयो । मध्यम वर्षा कुनै संकटको कारण नहुनुपर्ने हो । तर बीपी राजमार्गमा यातायात अवरुद्ध हुन पुग्यो । बाढी रोकिएपछि १५ घण्टाको प्रयत्न पछि बीपी राजमार्ग सञ्चालनमा ल्याइयो । बाढीले राजमार्ग भत्कदा पूर्वी नेपालबाट राजधानी आउने–जाने सवारीहरु रोकिएका थिए । यसलाई मनसुन सुरु नहुँदै संकट सुरु भएको उदाहरणका रुपमा लिन सकिन्छ । किनकि बीपी राजमार्गको संकट मनसुनसँगै लम्बिने प्रष्ट छ । गत असोजमा आएको बाढी पहिरोले बीपी राजमार्ग सहित राजधानी आसपासका सडकहरु नराम्रोसँग भत्किएको छ । धेरै असर बीपी राजमार्गमै परेको छ । स्थायी संरचना (पुल र पीच सडक) भत्किएकाले काम चलाउ सडकमा सवारी सञ्चालन भइरहेको छ ।
बीपी राजमार्गसँगै अरु सडकहरुको अवस्था पनि उस्तै छ । अर्थात् अविरल वर्षाको असर थेग्न सक्ने अवस्थामा ती सडकहरु छैनन् । यसको विकल्पमा सरकारले बेलैमा काम गर्नुपर्ने थियो । पुरानै संरचनामा स्थायी सडक र पुल बनाउन तत्काल संभव नभएपनि वैकल्पिक सडक खण्डहरु खोल्ने काम हुनुपथ्र्यो । तर देश विकासको रथ तीव्र बनिरहेको दाबी गर्ने सरकारले यति सामान्य काम पनि गर्न सकेको छैन । काम चलाउ सडक पनि स्थानीय र प्रदेश सरकारले गरिरहेका छन् । यद्यपि प्रधानमन्त्रीले भने विकासको लहर आएको भाषण गर्न छोडेका छैनन् । अनि मनसुन सुरु नहुँदै सरकारको गति देशले चाहिँ बुझिसक्यो । त्यसैले सरकारले मनसुनका बेला देखिन सक्ने संकटको पूर्व तयारीमा तत्काल अगाडि बढाउन जरुरी छ ।