२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

मिडिया, सामाजिक संजाल र यसका विकृति

G Motors
२०८२ जेठ ८ गते ०६:००
मिडिया, सामाजिक संजाल र यसका विकृति

–खिमराज गिरी 

भनिन्छ, मिडिया राज्यको चौथो अंग हो । देशमा भएका प्रमुख अंगहरू कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाबाट दैनिक गरिने जति पनि क्रियाकलापहरू छन्, ती सबै जनताका सामु लैजाने काम मिडियाले गर्छ । यस्तै, देश तथा विदेशमा भएका घटनाहरूलाई जनताका सामु ल्याउने काममा पनि मिडियाकै बढी योगदान रहन्छ ।

यति मात्र नभई विविध क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय समाचारहरू पनि विभिन्न न्युज एजेन्सीमार्फत संकलन गरी जनताका सामु प्रचारप्रसार गरिरहेको हुन्छ । 

प्राचीन इतिहासमा राज्य तथा सरकारी कामकाजका आधिकारिक निकायद्वारा कुनै समाचार जनतामा प्रचार तथा प्रचार गर्नुपर्‍यो भने एउटा कागजमा लेखी भित्ता, दोबाटो तथा चोकमा राखी सन्देश दिने काम गरिन्थ्यो । पछि बिस्तारै गुटेनबर्गले प्रिन्टिङ मेसिनको आविष्कार गरेको करिब २०० वर्षपछि भने सन् १६४० को दशकदेखि प्रिन्ट पत्रकारिताको क्षेत्रले फड्को मार्‍यो ।

सन् १९०० तिर रेडियो प्रविधिको आविष्कार भयो । सूचना र प्रविधिले कोल्टे फेर्ने क्रममा बिस्तारै सन् १९३३ तिर अडियो तथा भिजुअल सामग्री देख्न सक्ने किसिमको समाचार टेलिभिजनको आविष्कार भयो । समाचार प्रकाशन तथा प्रसारणका लागि निश्चित नीति नियम पनि बन्दै आए ।

र, सत्यतथ्यमा आधारित भएर कुनै पनि घटनाको यथार्थ विवरण पुष्टि भएपछि मात्र समाचार प्रकाशन तथा प्रसारण गर्ने भन्ने सैद्धान्तिक मान्यतामा सबै मिडिया क्षेत्रले निश्चित सिद्धान्तको पालना पनि गर्दै आइरहेको अवस्था छ । तथापि, पछि नयाँ–नयाँ प्रविधिको विकासमा इन्टरनेटको आविष्कारसँगै नयाँ मिडिया जस्तै : अनलाइन खबरहरू, सामाजिक संजाल हुँदै एआई प्रविधिको विकास भयो । विभिन्न किसिमका मोबाइल एपहरूको आविष्कारसँगै अहिले प्रत्येक मानिसको खल्ती–खल्तीमा समाचार रहन्छ । 

यो सब परिवर्तन वर्तमान डिजिटल युगमा संचारको स्वरूप तीव्र गतिमा परिवर्तन हुँदै गएको परिणति हो भन्न सकिन्छ । मूलधारको मिडिया र सामाजिक संजाल जनताका सूचना, शिक्षा र मनोरञ्जनका प्रमुख माध्यम बनेका छन् । तर, यी दुवै माध्यममा देखिएका विकृति र विसंगतिका केही घटनाले समाजमा गम्भीर प्रभाव पनि परिरहेको देखिन्छ ।

मूलधारका मिडिया भन्नाले खासगरी पत्रपत्रिका, टीभी, रेडियो जस्ता परम्परागत संचार माध्यमहरू हुन्, जसले सत्यतथ्य परीक्षण गरेर मात्र समाचार संकलन, उत्पादन र प्रचारप्रसार गर्छन् । व्यावसायिक मर्यादाको पनि पालना गरेका हुन्छन् ।

तर, पछिल्ला वर्षहरूमा मूलधारका केही मिडिया पनि आलोचनाको सिकार बनेका छन् । राजनीतिक प्रभाव, मिडिया मालिकको दबाब, व्यापारिक स्वार्थ र पूर्वाग्रही सम्पादनका कारण केही मूलधारका मिडिया पनि विवादास्पद बनेका देखिन्छ ।

प्रविधिको विकाससँगै सामाजिक संजाल, खासगरी फेसबुक, एक्स, टिकटक, युट्युब जस्ता प्लेटफर्मले संचार माध्यमको संरचना र परिभाषा नै बदलिदिएका छन् । यसले मिडियालाई छिटो त बनाएको छ नै, सँगै थुप्रै चुनौतीहरू पनि थपेको छ ।

विशेषगरी कुन समाचार सत्य र तथ्यमा आधारित हो भन्ने यकिन गर्ने अवस्था अहिले छैन । कतिपयका लागि सजिलो माध्यम बने पनि यसले ‘फ्रड न्युज’को बिगबिगी बनाएको छ । आज सामाजिक संजालमै आएका समाचारका आधारमा धारणा बनाउने र सोही धारणालाई नै सही मान्ने प्रचलन बढ्दो छ, जसले आमरूपमा समाजलाई नै गलत दिशातर्फ लैजाने जोखिम पनि बढाएको छ ।

निष्कर्षमा, मूलधारका मिडिया तथा सामाजिक संजाल दुवै समाजका लागि अपरिहार्य भइसकेका छन् । तर, यसमा राज्य तथा सम्बन्धित निकायले नियमनको पाटोबाट उचित कार्यक्रम ल्याउनु आवश्यक छ । यसको गलत प्रभावबाट समाजलाई जोगाउनुपर्छ नत्र समाज विघटनको कारक बन्न सक्ने कुरामा कसैको दुई मत नहोला ।

सूचना स्वतन्त्रता र सामाजिक सन्तुलन कायम गर्दै स्वस्थ मिडिया वातावरण निर्माण गर्नु आजको आवश्यकता र समाजमा स्वच्छ छबि बनाएर बाँच्न चाहनेहरूका लागि पनि यही आकांक्षा हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise