राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बितरित विभुषणबारे गृह मन्त्रालयले बक्तव्य नै जारी गरेर प्रष्टोक्ति दिएको छ । गृह मन्त्रालयका अनुसार, अघिल्लो वर्ष नै प्रदान गर्न तयार पारिएको विभुषण कोभिड महामारीका कारण यसपटक बितरण गर्नुपरेको हो । पहिले नै तयार पारिएकाले विभुषणमा नेपालको नक्सा पुरानै पर्न गएको गृह मन्त्रालयको प्रष्टोक्ति छ । यसको अर्थ विभुषणबारे फेरि प्रश्न उठेको छ । हरेक वर्ष विभुषण विवादमा पर्दै आएको छ । मुलुककै ठूलो सम्मानका रुपमा लिइने विभुषणबारे वर्षेनि विवाद सिर्जना हुने गरेको छ । कतिपय वर्ष विभुषण बहिष्कारसम्मको विवाद हुने गरेको छ । विभुषणको स्तर कायम नगरी बितरण गरिने गरेको विवादका बीच यसपटकको आलोचना भने फरक विषयमा भएको छ ।
राष्ट्रपति भण्डारीले शुक्रवार वितरण गरेको विभुषणमा नेपालका नक्सा पुरानै कायम छ । जबकी, मुलुकको संविधान संशोधन गरी अनुसूचीमै लिम्पियाधुरा सहितको नक्सा कायम भइसकेको छ । संसद्को सर्वसहमतिबाट पारित नक्सा नराखेर पुरानै नक्सा विभुषणमा राखिएको भन्दै केहीले फिर्ताको निर्णय समेत गरिसकेका छन् । उनीहरुले नेपालको नक्सा नयाँ हुनुपर्ने अडान लिएका छन् । विभुषण फिर्ताकै घोषणा भएपछि गृह मन्त्रालयले उम्कने प्रयास गरेको छ । त्यसका लागि सरकारलाई सजिलो जवाफ मिलेको छ– अघिल्लो वर्षको पदक भएकाले लिम्पियाधुरा सहितको नक्सा राखिएको छैन । तर, जनस्तरबाट जस्तो आलोचना र आक्रोश उठेको छ । यसमा आम नेपालीको भावना समेटिएको छ ।
सरकारसँग जनताले आशंका गरेका छन् । किनभने, यसअघि पाठ्यपुस्तकमा नेपालको नक्सा नराखिएकोमा सरकारको आलोचना भएको थियो । संविधानमा एउटा नक्सा र पाठ्यपुस्तकमा अर्को नक्सा प्रकाशित गर्ने सरकारको निर्णयको त्यसबेला तीव्र विरोध भएको थियो । तर, राजनीतिक घटनाक्रमले उक्त आलोचना ओझेलमा परेको थियो । जबकी, संविधानमै उल्लेख गरिसकेपछि पाठ्यपुस्तकमा नयाँ नक्सा समावेश नगरिनु असंवैधानिक थियो । सरकारलाई असंवैधानिक काम गर्ने छुट हुन्न । नेपालको भूमिलाई राजनीतिक दाउपेच बनाउन खोजिएकोमा पनि उस्तै आलोचना हुने गरेको छ । विशेषगरी विपक्षमा हुँदा राष्ट्रियताको मुद्दा चर्काउने र सरकारमा हुँदा मुलुकको भावना र हित बिपरीत काम गर्न पछि नपर्नुले पनि त्यो शंका आम जनतामा ब्याप्त छ । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारले लिएको अडान र बढेको विवादले पनि त्यही प्रमाणित गर्छ । त्यही शृङ्खलाका रुपमा पदकमा उल्लेखित नेपालको पुरानो नक्सालाई लिइएको छ । त्यसैले अहिले सरकारले जस्तो प्रष्टोक्ति दिएपनि जनताको भावनाको कदर भने गरिनुपर्छ । भूगोलसँग जोडिएको भावना बुझ्नु र पालना गर्नु सरकारको दायित्व हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies