२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दुई दर्जन म्यानपावरले बुझाए फ्रि भिसा, फ्रि टिकटको विवरण

ADV
२०८१ असार २५ गते ०६:३५
दुई दर्जन म्यानपावरले बुझाए फ्रि भिसा, फ्रि टिकटको विवरण

काठमाडौं : दुई दर्जन म्यानपावर कम्पनीले चालु आर्थिक वर्षमा फ्रि भिसा, फ्रि टिकट अर्थात शून्य लागतमा कामदार वैदेशिक रोजगारमा पठाएको विवरण वैदेशिक रोजगार विभागलाई पठाएका छन् । विभागले फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाएको विवरण साउन १ गतेभित्र बुझाउन गत असार १७ गते सूचना प्रकाशित गरेकोे थियो ।

विभागले म्यानपावर कम्पनीसँग फ्रि भिसा, फ्रि टिकटअन्तर्गत पठाएको श्रम गन्तव्य मुलुक, रोजगारदाता कम्पनीको संस्था, कामदारको नाम, उनीहरूको नेपालको सम्पर्क नम्बर, काम, तलबलगायतका विवरण पठाउन भनेको छ ।

विभागले दिएको समयसीमाभन्दा एक हप्ताअघि नै विवरण पठाउने म्यानपावर कम्पनीहरूमा गुड एलायन्स ओभरसिज प्रा.लि., एफएसआई वल्र्डवाइड नेपाल प्रा.लि., ब्रोडलिंक ओभरसिज प्रा.लि., सोलो एशिया रिक्रुटमेन्ट प्रा.लि., वाइज इन्टरनेशनल नेपाल प्रा.लि., मित्र ओभरसिज प्रा.लि., सुनकोशी म्यानपावर सर्भिस प्रा.लि., नवजीवन इन्टरनेशनल प्रा.लि. रहेका छन् । 

त्यस्तै स्टेभान गुर्खा सर्भिस प्रा.लि., टाइटानिक म्यानपावर सप्लायर्स प्रा.लि., रिलायन्स एचआर सोलुसन प्रा.लि., ब्रिटिश गुर्खा ओभरसिज सर्भिस प्रा.लि., मिराकल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि. र नासा ह्युमन रिसोर्स प्रा.लि.ले पनि विवरण पठाएका छन् ।

विभागले फ्रि भिसा, फ्रि टिकट अर्थात शून्य लागतमा कामदार पठाएको विवरण पठाएका म्यानपावर कम्पनीहरूले कुनै रकम लिएको भए उजुरी दिन पनि आग्रह गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको दुई दर्जन म्यानपावर कम्पनीहरूको सूचीमा शून्य लागत र इम्प्लोइमेन्ट पे मोडलमा कामदार पठाउँदै आएका इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. र आकर्षण इन्टरनेशनल प्रा.लि. जस्ता धेरै कामदार पठाएका म्यानपावर कम्पनीको नाम भने समावेश छैन । आकर्षण इन्टरनेशनल प्रा.लि.का अध्यक्ष विष्णु केसीले विभागमा विवरण पठाउने समयसीमा अझै एक हप्ता रहेको भन्दै तोकिएको समयसीमाभित्र नै विवरण पठाउने तयारीमा रहेको बताए ।

अघिल्ला वर्षहरूमा १६ देखि १८ हजार नेपाली फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारमा गएको आंकलन छ । व्यवसायीले विवरण पठाएपछि चालु आर्थिक वर्षमा फ्रि भिसा, फ्रि टिकटको पछिल्लो चित्र स्पष्ट हुनेछ ।

फ्रि भिसा, फ्रि टिकटको डिमाण्डमा कामदार पठाएको भएपनि कतिपय म्यानपावर कम्पनीले एजेन्ट र बिचौलिया परिचालन गरेर विगतमा जस्तै ठूलो रकम लिएको आशंका वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ । विभागको पछिल्लो सूचनामा उजुरी दिन गरिएको आग्रहले विभाग फ्रि भिसा, फ्रि टिकटमा ठूलै रकम असुली भएको मनोदशामा रहेको प्रष्ट भएको छ ।

तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा २०७२ सालमा फ्रि भिसा, फ्रिी टिकटको व्यवस्था आएको हो । वैदेशिक रोजगार व्यवसायी संघले उक्त निर्णयमा केबल ४ प्रतिशत मात्रै नेपाली कामदार गएको र केही कामदार उक्त निर्णय आउनु अगाडिदेखि नै फ्रि भिसा, फ्रि टिकटमा गएकाले  बिना अध्ययन अनुसन्धान सस्तो लोकप्रियताका लागि आएको निर्णय भनि विरोध गर्दै आएको छ ।

मन्त्रालयले उक्त निर्णयलाई न कडाइका साथ लागू गर्न सकेको छ न त हटाउन नै सकेको अवस्था छ । यस्तो अवस्थामा विभागमार्फत माग गरिएको विवरणको औचित्य के ? भन्ने प्रश्न धेरै व्यवसायीले उठाउने गरेका छन् ।

मन्त्रालयले विभागमार्फत वर्षेनी विवरण मागे पनि यस सम्बन्धमा उठेका प्रशनहरूको समाधानका लागि ठोस निर्णय गर्नसकेको छैन । कानूनतः खाडी र मलेसिया गएका सबै कामदार फ्रि भिसा, फ्रि टिकटमै गएका हुन्, जसको दैनिक, मासिक र वार्षिक विवरण वैदेशिक रोजगार विभागसँग नै सुरक्षित छ ।

यस्तो अवस्थामा आफैंले दिएको फ्रि भिसा, फ्रि टिकटअन्तर्गतको श्रम स्वीकृतिको विवरण व्यवसायीसँग माग गर्ने काम फुर्सदको सदुपयोग गर्ने विभागको नयाँ शैली त होइन भन्ने कतिपयको जिज्ञासा छ ।

ADVADV

सम्बन्धित खबर

Advertise