क्वालालम्पुर, मलेसिया : मलेसियाले आफ्ना नागरिकसँग वैवाहिक सम्बन्धमा रहेर पछि कुनै कारणवश छुट्टिएका गैरनागरिक पति वा पत्नीलाई मलेसियामा बस्न र काम गर्न अनुमति दिने भएको छ । यो व्यवस्थाले सम्बन्धविच्छेद वा अलग्गिएका गैरनागरिकहरूलाई औपचारिक वा स्वरोजगार क्षेत्रमार्फत आफू र आफ्ना आश्रित सन्तानहरूलाई आर्थिक रूपमा सहयोग गर्न अवसर प्रदान गर्ने बताइएको छ ।
मलेसियाका गृहमन्त्री दातुक सैफुद्दिन नासुसन इस्माइलले पूर्ववैवाहिक सम्बन्ध भएकाले मलेसियामा आवासीय अनुमति ‘रेसिडेन्ट पास’का लागि आवेदन दिन सक्ने र पास पाउनेहरूलाई मलेसियामा बस्न र काम गर्न अनुमति दिइने बताए । मलेसियाको पछिल्लो निर्णयले नेपाली कामदारका मुख्य प्रतिस्पर्धी बंगलादेशी कामदारहरूलाई रणनीतिक लाभ पुग्ने आँकलन गरिएको छ ।
उक्त पास सुरुमा पाँच वर्षका लागि मान्य हुने र पछि पुनः नवीकरण गर्न सकिने बताइएको छ । हाल विदेशी नागरिकले मलेसियाली नागरिकसँग विवाह गरेपछि सामाजिक भ्रमण पासका आधारमा कानुनी रूपमा मलेसियामा बस्न र काम गर्न अनुमति दिने गरिएको छ ।