पर्सा : नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमातर्फ दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ ।
निर्जीवन बीमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेश प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरे ।
कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेश प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ ।
जीवन बीमा शुल्क सङ्कलनमा मधेश प्रदेशको हिस्सा ९ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ ।
कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो । (रासस)