-झपेन्द्रराज वैद्य
प्रारम्भ :
जनता सर्वोपरि हुन् । २० वर्षसम्म संसदीय व्यवस्थाको अभ्यास र यसैमा जोडिएका नेताहरुको चरित्र जनताले प्रत्यक्ष देखिसकेका छन् । जनताको जीवन स्तर झन् पछि झन् खस्केको मात्र होइन, नेपाल विदेशीको नवउपनिवेश जस्तो बन्ने अवस्थामा पुगेको छ । जनताको राय बुझ्न जनमत संग्रह गर्नु राम्रो कुरा हो । जनता सर्वोच्च भएको हुनाले जनताको फैसलाअनुसार काम गर्नुपर्छ । अहिले जनता संसदवादी नेताहरुसँग आक्रान्त छन् । कमिशन भ्रष्टाचार, माफिया र तस्करको थलो सरकार भएको छ । यसको नेतृत्वकर्ताको रुपमा रहेका प्रधानमन्त्री यी सबै प्रक्रियामा सबैभन्दा बढि जिम्मेवार छन् । प्रधानमन्त्रीबाट संसद विघटन हुन्छ । सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्छ । अहिलेको परिपाटीलाई हेर्दा भन्न सकिन्छ प्रधानमन्त्रीभन्दा अदालत शक्तिशाली छ । प्रश्न उठेको छ, के यो व्यवस्था हालका दलहरुले चाहेका हुन् ?
अहिले संसद् पुनः स्थापना भएको पनि महिनौ बितिसकेको छ । संसद पुनः स्थापना भए पनि गतिलो कार्यसूचीमा भने बैठक बस्न सकेको छैन् । अदालतको फैसलाअनुसार पूर्ववत अवस्थामा फर्किएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)भित्र पनि किचलोहरु देखिएका छन् । मुख्यतः सत्ता समालिरहेको एमालेभित्रको किचलो गम्भिर खालको छ । अहिले एमालेभित्र एउटा समूहले अर्कोलाई कारबाही गर्ने, निष्कासन गर्ने, निषेध गर्ने गतिविधि भईरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुँ शक्तिसम्पन्न अध्यक्ष भएको दाबी गरेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपालले आफुँसँग महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बहुमत समूह रहेको दाबी गरिरहेका छन् ।
अहिले एमालेभित्र पार्टी विभाजनको तहसम्म विवाद देखिएका छन् । दुबै थरिले आफु आधिकारिक भएको दाबी गरिरहेका छन् । प्रमले एकलौटी रुपमा सत्ता चलाएको भनी नेपाल समूहले बिरोध गरिरहेको छ । अदालतको आदेशसँगै पूर्ववत अवस्थामा फर्किएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रले पनि ओलीलाई सत्ता छाड्न दबाब दिइरहेको अवस्था छ । सत्ता स्वार्थमा तत्कालिन नेकपाका यी तीन समूह अहिले आ–आफ्नै डम्फु बजाईरहेका छन् । जनता सत्ताको नेतृत्व गरिरहेका यी समूहका रवैयाले दिक्क छन् ।
संकटको निकास : जनमत संग्रह
राष्ट्रिय रुपमा बदलिँदो छ । जनताले देखिएको अराजक राजनीतिक अवस्थाको निकास खोजेका छन् । अहिलेको परिस्थितिअनुसार व्यवस्थामाथि देखिएको प्रश्नका आधारमा नयाँ विकल्पको रुपमा जनमत संग्रहको विषय उठान भएको छ । वैज्ञानिक समाजवाद कि संसदवाद भन्ने बिषयमा जनमत गर्नुपर्छ भन्ने माग अगाडि आएको छ । विभिन्न विषयमा जनमत संग्रह हुनसक्छ । अहिले असफल भएको संसदीय व्यवस्थाको विकल्पमा जनमत संग्रह हुनुपर्छ । तर, जनमत संग्रह गर्दैमा जनताको राय आइहाल्छ भन्न सकिँदैन । विदेशीले दलालमार्फत् नेपालको सत्तामा प्रभाव जमाईरहेका छन् । एमसीसी सम्झौता लागू गर्ने उद्देश्यका साथ अमेरिकाले निरन्तर सत्तामाथि दबाब बढाईरहेको छ । यसमा अमेरिकाले ठूलो धनराशी खर्च गर्ने योजना पनि बनाएको छ ।
यदि हालको व्यवस्था परिवर्तन भएमा, जनताको चाहनाअनुसारको सत्ता आएमा पैसा र दलालको आधारमा नेपालको सत्ता सञ्चालन गर्ने योजना असफल हुन्छ । त्यस्तो नेपालका दलालहरुको पनि घाँटी सुक्छ । एउटा त उनीहरुको कमाइ रोकिन्छ । दोस्रो दलालहरुको सदाको लागि सत्ता गुम्ने हुन्छ । उनीहरुमा रुवाबासी हुन्छ । अर्को महत्वपूर्ण कुरा अमेरिकाले नेपालको छातीमा टेकेर चीनलाई हिर्काउन सक्दैन । भारतको आफ्नो स्वार्थमा भूकम्प जान्छ । उसले नेपालमा अड्डा जमाउन पाउँदैन । न त नै सीमा मिच्न पाउँछ । सीमा मिच्न नपाउने मात्र होइन मिचिएका नेपालको भू–भाग पनि फिर्ता गर्नुपर्छ । असमान व्यापार हुन पाउँदैन । भारतले नेपाललाई पञ्चशीलको सिद्धान्तले हेर्नुपर्छ । सहअस्तित्व स्वीकार्नुपर्छ । भूगोलमा भारत ठूलो भए पनि नेपाल भारतको छोटेभाइ होइन । न त भारत नेपालको बडे भाइ हो । दुबै समान हुन् ।
यस प्रकार जनमत संग्रहमा जान चुनौती छ । त्यसो त नेपालको हरेक निर्वाचनमा अमेरिका र भारतले विशेष रुपले हेरिरहेका हुन्छन् । उम्मेदवार उठाउने र जिताउने पनि उनै हुन्छन् । अब के नेपाल विदेशी हस्तक्षेप सहेर बसिरहन्छ त ? अहँ त्यसो होइन । सारा नेपालीको बलले विदेशी हस्तक्षेप बिफल पार्नुपर्छ । यो नेपाली जनताको हातमा छ । साबिक निर्वाचन आयोगले होइन । प्रगतिशील नेपालीको आयोगले निर्वाचन गराउनुपर्छ । साम्राज्यवाद र प्रतिगमन विरोधी नागरिक प्रगतिशील हुन । कमिशन र भ्रष्टाचारमा प्रमाणित भएका व्यक्ति आयोगमा बस्न सक्दैनन् । वैज्ञानिक समावाद लागू भएमा नेपाल विश्वमा चम्कने छ । यहाँ एउटा कुरा आउँछ कि बल प्रयोग नगरिकन पनि वैज्ञानिक समाजवाद आउन सक्छ ? बल प्रगोग बिना संसारमा कहीँ पनि समाजवाद आएको इतिहास छैन । यो कुरा सत्य हो । बल प्रयोग नै गर्नुपर्छ । तर, चीनमा पनि त माओले जापानी साम्राज्यवादलाई जित्न च्यांकाइसेकको सहायता लिएको इतिहास छ । बल प्रयोग निरपेक्ष सत्य होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गर्नुपर्छ । अहिले संसदीय व्यवस्था असफल भएको अवस्थामा जनता निकै आक्रान्त भएका छन् । संसदीय व्यवस्था निर्बस्त्र भएको छ । यस अवस्थामा जनताले अग्रगमनकारी एजेण्डा वैज्ञानिक समाजवादलाई नै जिताउने छन् । जिताउन नसकेमा फेरि पनि राजनैतिक अस्थिरता कायमै रहनेछ । विद्रोह हुनेछ ।
हामीले म्यानमारको इतिहासबाट सिक्नुपर्छ । गत फेब्रुअरी १ मा सेनाले गरेको सत्ता कब्जाविरुद्व म्यानमारमा भएको प्रदर्शनमा ७ सय जनाभन्दा बढि प्रदर्शनकारीको ज्यान गईसकेको छ । गत मार्च २७ मा मात्रै एकैदिन ११ बालबालिकासहित ११४ प्रदर्शनकारी मारिएका थिए । यी दुःखद समाचारलाई केलाउँदा, कति ठूलो सौर्य उत्साह र विरता बोकेको म्यानमारका जनताको इतिहासमाथि एक शासकले कसरी बर्बरता मच्चाईरहेको छ भन्ने देखिन्छ । अहिले पनि म्यानमारमा प्रदर्शन जारी छ । जनता सैन्य कुविरुद्व सडकमा ओर्लीरहेका छन् । दुःखका साथ भन्नुपर्छ अझै पनि त्यहाँ ठूलो क्षतिको सम्भावना छ ।
अन्त्यमा, जनमत संग्रहको निर्वाचन अग्रगामी शक्ति र प्रतिगमनबीचमा हुने भएकोले अग्रगमनकारीहरुले पैसा खर्च गर्न र बाकस साट्न दिने छैनन् । जुनसुकै राम्रो चीज प्राप्त गर्न चुनौती र विकल्प हुन्छन् । अहिले एकथरिले जनमतलाई संकीर्ण नजरले हेरे पनि आखिरीमा स्पष्ट हुँदै जाने छ । यो पूवाग्रहको खेती हो । अब पनि वीरवलको खिचडी पाक्दै जाने हो भने जनताको विश्वासबाट उनीहरु टाढिदै जाने छन् । जनमत संग्रहको प्रस्ताव एकीकृत क्रान्तिको यात्रामा हिँडिरहेको विप्लव नेकपाको हो । अहिले नै धेरै क्षति व्यहोर्नुभन्दा यो समयसापेक्ष छ । अब सबै देशभक्त र जनतान्त्रिक शक्ति एकै ठाउँमा भएर वैज्ञानिक समाजवादमा जानुको विकल्प छैन ।
वैज्ञानिक समाजवाद नै साझा विषय हो । अहिले वैज्ञानिक समाजवादको नारामा चार पार्टीको रणनीतिक मोर्चा हुनु समयको माग हो । अब मोर्चा मात्र होइन् पार्टी एकीकरण गर्दै जानुपर्छ । अब पनि सानो चुल्हो चौका बनाइराख्नु माक्र्सवादलाई विकास गर्न नदिने सारसंक्षेपवादी अवधारणा हो । विचार र सिद्धान्त मिलेको अवस्थामा पद र प्रतिष्ठाको लागि आफ्नै गोरुको बाह्रै टक्का भन्नु गोल चक्करवादी प्रवृत्ति हो । पार्टीभन्दा ठूलो जनता र विचार तथा सिद्धान्त हो । अहिले वैज्ञानिक समाजवादको नयाँ परिस्थिति बनेकोले अब ढिला नगरी यसैमा एकजुट हुन जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies