२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन

मध्यान्ह
२०८२ जेठ १५ गते १७:०२
शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले आफ्नो भविष्य आफैं निर्माण गर्नसक्ने क्षमतावान, उद्यमशील र उत्पादक मानव पूँजीको विकास, शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने, प्रत्येक जिल्लामा कम्तिमा एक विद्यालय पर्नेगरी एक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

ती एक सय विद्यालयले अन्य विद्यालयको नतिजा सुधारमा सहयोग गर्ने व्यवस्था मिलाउने र त्यसका लागि प्रति विद्यालय पच्चिस लाख रुपैयाँ अनुदान प्रदान गरिने उनले बताए । बजेट प्रस्तुत गर्ने क्रममा उहाँले अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुको अभाव हुन नदिन विश्व विद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरे ।

साथै बजेटमा कक्षा पाँचसम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजाको रकम बढाउँदै १० अर्ब १९ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

उनले बर्दिबास, बुटवल, सुर्खेत र डडेलधुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजहरुको पूर्वाधार निर्माण कार्य अघि बढाउन ५६ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

ADV

सम्बन्धित खबर