काठमाडौं : कन्सुलर सेवा विभागले वैदेशिक रोजगार प्रयोजनको लागि गर्नुपर्ने प्रमाणीकरण कार्य सम्बन्धित रोजगार व्यवसायीमार्फत आएमा गरिदिने बताएको छ । राजधानीमा निकै संक्रामक मानिएका कोरोना भाइरसका भेरियन्टहरु देखिएपछि विभागले मंगलबारबाट अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने बताउँदै वैदेशिक रोजगारका हकमा व्यवसायीमार्फत काजगात प्रमाणीकरण गर्न सकिने बताएको हो ।
उपत्यकामा कोरोना संक्रमितहरुको दर बढेपछि विभागले सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै सेवाग्राहीले इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा मात्र अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गरिने बताएको छ ।
वैदेशिक रोजगार व्यवसायीहरुले परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको कन्सुलर शाखाबाट वैदेशिक रोजगारीमा जाने कामदारको चालचलन सम्बन्धी प्रहरी रिपोर्टलगायत अन्य सरकारी कागजातहरु प्रमाणीकरण गराउँदै आएका छन् ।
विभागले नेपाल प्रहरीबाट अनलाइनमार्फत प्राप्त हुने प्रहरी रिपार्ट रंगीन प्रिन्ट गरी कन्सुलर कार्यालयमा प्रमाणीकरण बिना नै काठमाडौंस्थित विदेशी नियोगमा पेश गर्न सकिने जनाएको छ । विदेशमा रहेका नेपालीहरुले विदेशको सम्बन्धित निकायमा प्रहरी प्रतिवेदन पेश गर्दा अनलाइनबाट आफैंले रिपोर्ट प्रिन्ट गरी पेश गर्न सक्ने भन्दै विभागले त्यसको आधिकारिकता अनलाइनमार्फत बुझ्न सम्बन्धित सरोकारवाला निकायहरुलाई यसअघि नै आग्रह गरिसकेको जनाएको छ ।
नेपाली नियोगबाट प्रमाणित प्रति नै पेश गर्नुपर्ने बाध्यता भएमा आफु बसेको देशमा रहेको नेपाली नियोगबाट रंगीन रिपोर्ट पेश गरी प्रमाणीकरण गराउन सकिने विभागले बताएको छ । तर त्यसरी प्रमाणीकरण गर्दा नियमानुसारको शुल्क लाग्ने विभागको भनाइ छ ।
सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरेपछि विभागले सोमबारबाट विहान ८ बजेबाट सेवा प्रवाह शुरु गरिएको भन्दै बेलुका ५ बजेसम्म सेवा प्रवाह हुने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies