तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको अन्तिम परिषद भेलाले परिषद सदस्यता शुल्कमा एक तिहाई भन्दा बढीले कटौती गरेको छ । मंगलबार सम्पन्न भेलाले यसअघि रहेको ५५ कतारी रियालको सदस्यता शुल्कमा २० रियाल घटाउँदै ३५ रियाल कायम गरेको हो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदाको सभापतित्व तथा कतारका लागी नेपाली राजदूत डा नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कोरोना संक्रमणको बेला परिषद्ले नेपाली समुदायका लागि गरेका राहत, उद्धार तथा समन्वयका कामको बृहत समीक्षा समेत गरेको छ ।
राजदूत डा. भारद्वाजले कोरोना समयमा राजदूतावाससँग व्यवस्थित समन्वय गरी प्रभावकारी कार्य गरेको, कतारको आन्तरिक र श्रम मन्त्रालयसँगको समन्वय, समस्यामा रहेकाहरुलाई हवाई टिकट, आवास र खाद्यान्न वितरणमा संघले दिएको योगदानको प्रशंसा गर्दै भविश्यका दिनमा पनि सहयोग तथा राहतका लागि आग्रह गरे । उक्त कार्यक्रम २०१९ ÷ ०२१ कार्यकालको अन्तिम पार्षद् भेलामा थियो ।
कोरोनाले कतारमा सिर्जना गरेको असहज परिस्थितिमा श्रमिकका राहत तथा उद्धारका लागि उच्चतम कार्य सम्पादन गरेको श्रमिक विभागको कार्य प्रगति विवरण भने भेलामा विशेष कारण जनाउँदै पेश गरिएन । श्रमिक समस्या समाधान तथा राहत वितरण समितिका संयोजक उत्तम गुरुङले आफ्नो टिमले गरेको कार्य कतारका नेपाली माझ चिरपरिचित रहेको दावी गरे ।
भेलामा संघका कोषाध्यक्ष विनोद प्रसाद बसौलाले समितिको कार्यकाल ३ लाख ३० हजार ४ सय ९२ रियाल आम्दानी र १ लाख ८४ हजार २ सय ३७ रियाल खर्च विवरण पेश गर्दै १ लाख ४६ हजार २ सय ५५ रियाल बचत गरेको आयव्यय प्रस्तुत गरे । कार्यक्रमको सहजीकरण गरेका महासचिव पदम गिरीले संघको २ वर्षे कार्यकालको कार्य प्रगति विवरण पेश गरेका थिए ।
भेलामा खाडी राष्ट्रमा श्रमिक उद्धारमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दिएको रकममा भ्रष्टाचार भइरहेको समाचार बाहिरी रहेका बेला कतारको हकमा पनि सहभागीबाट प्रश्न उठाइएको थियो । प्रश्नको जवाफ दिँदै संघका अध्यक्ष मुक्तदाले कतारका लागि १ लाख ४४ हजार ११४ रियाल रकम आएको र हालसम्म विभिन्न शीर्षकमा ८६ हजार ५ सय ६२ रियाल खर्च भई सकेको जानकारी दिँदै चालु परियोजना समाप्त भए पनि आर्थिक विवरण सार्वजनिक गर्ने र बाँकी रहेको रकम फिर्ता गरीने प्रतिबद्धता व्यक्त गरे । संघको मध्यपुर्व संयोजक तथा परियोजना अनुगमन समितिका संयोजक प्रविण गुरुङले पनि उक्त प्रतिवद्धता दोहर्याए ।
संघको कार्यकाल २०१७–२०१९ मा स्थापित साहित्य तथा पत्रकारिता पुरस्कारलाई यस कार्यकालमा पनी निरन्तरता दिंदै कार्यकाल २०१९–२०२१ को ‘साहित्य पुरस्कार’ दीप मिलन, ‘पत्रकारिता पुरस्कार’ तिलु शर्मा र स्वास्थ्य तथा खेलकुद पुरस्कार ईन्तखाब अहमद प्रदान गरिने निर्णय गरिएको छ । भेलामा पेश भएका कार्य प्रगति विवरण, संगठनात्मक प्रतिवदेन, आयव्यय विरण लगायतका प्रश्ताव पारित भएका छन् भने आईसिसि सदस्य रमेस भट्टलाई निर्वाचन समिति संयोजक चयन गरेको छ । भेलाले २०२१/०२३ कार्यकालको विधान संशोधनसहित पास गरेको छ ।
कार्यक्रममा एनआरएनका प्रतिनिधि कतारमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । प्रथम उपाध्यक्ष उत्तम गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष कुमार खड्काले संघसंस्था समन्वय प्रतिवेदन, युवा संयोजक रविन मगरले युवा विभागको कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies