काभ्रेपलाञ्चोक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमार्ग आयोजनालाई अघि बढाउने घोषणा गरिएको छ । बजेट मन्तव्यमा पौडेलले काभ्रेपलाञ्चोकअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनालाई बजेट विनियोजन गरिएको घोषणा गरे ।
प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दोलालाघाटबाट दोलखाको शैलुङ्ग गाउँपालिका–७ को चर्नावतीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रेपलाञ्चोकको दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने घोषणा गरेका हुन् । यससँगै जिल्लामा सुरु भएका दीर्घकालीन महत्वका योजनाहरू बजेटको प्राथमिकतामा परेको जनाइएको छ ।
बजेट वक्तव्यमा जिल्लामा निर्माण भएको सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गरिने उल्लेख छ । यस्तै मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम अघि बढाउने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै धुलिखेल अस्पताललाई सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
मदन भण्डारी विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने ‘मास्टर प्लान’ निर्माण सम्पन्न भइसकेको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिका अनुसार निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारीमा रहेको छ । तत्कालीन नेकपा नेतृत्वको सरकारले ‘मदन भण्डारी विश्वविद्यालय विधेयक–२०७६’ गत असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बाट पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि थप बाटो खुलेको थियो । तत्कालीन सरकारका अर्थमन्त्री पौडेलले २०७६ सालको बजेटमा उक्त विश्वविद्यालय निर्माणका लागि रु एक अर्ब ५५ करोड बजेट विनियोजन गरेका थिए ।
उक्त विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ । विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखाल नगरपालिकासहित नमोबुद्ध नगरको केही वडा समेटिएको हो । विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब ११ हजार रोपनी सार्वजनिक जग्गा जिल्ला मालपोत कार्यालय धुलिखेलमार्फत अधिग्रहणको काम गत साल नै सकिएको थियो । कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नम्बर वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण) भइसकेको हो ।
उक्त जमिनमा शिक्षण, मेडिकल कलेज र अस्पतालका आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक–विद्यार्थीका होस्टेल, हेलिप्याड, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ । तत्कालीन मन्त्रीपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको थियो । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित गरेको थियो । सोहीअनुसार २०७६ मङ्सिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो ।
चिनियाँ सरकारको तत्कालीन भ्रमणका क्रममा सो विश्वविद्यालय निर्माणार्थ सहयोग गर्न इच्छुक देखाएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ अक्टोबरमा भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको तत्कालीन नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो ।