२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

ऊर्जा सुरक्षामा हितेन्द्रका योजना : पम्प स्टोरेजदेखि विपद् रेस्पोन्स टिम निर्माणसम्म

मध्यान्ह
२०८२ जेठ १८ गते २२:३१
ऊर्जा सुरक्षामा हितेन्द्रका योजना : पम्प स्टोरेजदेखि विपद् रेस्पोन्स टिम निर्माणसम्म

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा भण्डारण गरी देशको ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’ जलविद्युत आयोजनाको निर्माणलाई अघि बढाउने जानकारी दिएका छन् । सञ्चारकर्मीहरूसँगको एक छलफलमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आगामी वर्षबाट कुलेखानी–सिस्नेरीलगायतका स्थानमा ‘पम्प स्टोरेज’ जलविद्युत आयोजना अघि बढाउने गरी तयारी अघि बढाएको जानकारी दिए ।

खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत् पठाएर बिजुली निकाल्ने ‘पम्प स्टोरेज’ आयोजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना अघि बढाएको उनले बताए । दैनिक विभिन्न समयमा हुने विद्युत माग उतारचढावलाई कम गर्न यस्तो आयोजना प्रभावकारी हुने उनको भनाइ छ । ‘दिगो ऊर्जा सुरक्षा मेरो प्राथमिकता हो, ठूला जलासययुक्त आयोजनाहरू आज सुरुवात गरियो भने ती पूरा हुन् करीब १५ वर्ष लाग्छ, १५ वर्षसम्ममा प्रविधि कहाँ पुग्छ थाहा हुँदैन । त्यसैले अहिले ठूला–ठूला ऊर्जा भण्डारणका आयोजना सुरु गर्नुको अर्को विकल्प छैन’, उनले भने ।

उनले एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी भैरहवा, विरगञ्ज, विराटनगर र नेपालगञ्ज जस्ता ठूला उद्योग भएका ठाउँमा १ सय मेगावाटका ब्याट्री राख्ने योजना बनाएको बताए । ‘अहिले ब्याट्री भन्ने वित्तिक्कै घर–घरमा राख्ने भन्ने हल्ला चलाउने गरिएको छ, त्यसो होइन, १ सय मेगावाटका ब्याट्री ठूला उद्योग भएका क्षेत्रहरूमा राखियो भने लामो समय ट्रिप हुने समस्यामा कमी आउँछ’, उनले भने, ‘दिउँसो सोलारबाट चार्ज हुन्छ फेरि राति हाइड्रोबाट चार्ज हुन्छ, उद्योगमा ती ब्याट्रीमार्फत् विद्युत आपुर्ति हुन्छ र त्यसले गर्दा अन्ततिरको लोड कम हुन्छ, जसका कारण अन्त नियमित विद्युत आपूर्तिमा सहज हुन्छ ।’

शाक्यले विद्युत उत्पादन बढदै गए पनि त्यस अनुसार प्रसारण लाइन विस्तार नहुँदा विद्युत आपूर्ति प्रभावित भएको भन्दै प्रशारण र वितरणलाईन दु्रत गतिमा बनाउनुको अर्को विकल्प नभएको पनि बताए । उनले वितरण लाइनमा त्यति अवरोध नभए पनि प्रशारण लाइनमा अवरोध रहेको भन्दै ती समस्याको समाधान गरी अघि बढ्ने पनि उल्लेख गरे ।

शाक्यले अहिले बाहिरभन्दा काठमाडौं उपत्यकामा बढी ट्रिपिङको समस्या आएको भन्दै यसको समाधानका लागि भक्तपुर अथवा मातातिर्थतिरमा १ सय मेगावाटको ऊर्जा भण्डारका लागि ब्याट्री राख्ने योजना बनाएको पनि बताए । ‘त्योसँगै आवश्यक ठाउँहरुमा ट्रान्सफर्मर थप्ने भन्ने पनि तयारी छ’, उनले भने, ‘केही समय अघि स्युटाचारमा भएको घटनाले ट्रान्सफर्मरको क्षमता बढाउने होइन कि अर्को ट्रान्सफर्मर, फिडर थप्ने गरी अघि बढ्नुपर्छ भन्ने देखाएको छ, हामीले त्यसका लागि पनि पहिचान गर्दै आएका छौँ, त्यसले हाम्रो प्रणालीको प्रभावलाई बढाउँछ ।’
उनले विस्तारै ‘ओभर हेड फिडर’ सँगै भूमिगत केबुलको फिडरले पनि प्रणालीको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा लिएको बताए । त्योसँगै सव–स्टेशनमा हाइ भोल्टेजका ट्रान्फरर्मर र त्योसँगै फिडरबाट पोल–पोलमा भएको ट्रान्फरर्मरको पनि क्षमता वृद्धि गर्ने रणनीति लिएको उनले जानकारी दिए ।

लामो फिडरमा एक ठाउँमा विद्युत आपूर्तिमा समस्या हुँदा त्यहाँको सबै ठाउँमा वत्ती जाने अवस्था हुने भन्दै त्यसको समाधानका लागि रणनीति बनाएको जानकारी दिए ।

विद्युत प्राधिकरणले वर्खासँगै आउने बाढी, पहिरो, हावा–हुरी तथा असिना, मुसल्धारे वर्षा जस्ता विविध प्रकृतिका प्रकोपका घटनाहरूबाट विद्युत आपूर्तिमा आउन सक्ने अवरोधलाई तत्काल समाधान गर्न रेस्पोन्स टिम बनाउने तयारी गरेको पनि उनले बताएका छन् । ‘हरेक प्रदेश र वितरण केन्द्रमा हामीले रेस्पोन्स टिम राख्छौँ,’ उनले भने, ‘वर्खासँगै आउने प्रकृतिका प्रकोपका घटनाहरूबाट विद्युत आपूर्तिमा आउन सक्ने अवरोधलाई तत्काल समाधान गर्न हामीले रेस्पोन्स टिम राख्ने तयारी थालेका छौँ ।’

ADV

सम्बन्धित खबर