काठमाडौं : विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गरेका छन् । सोमबार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तथा विज्ञापन ऐन संशोधनका सम्पन्न गर्ने बताए ।
उनले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै विज्ञापन बजारको विकास र विस्तारको प्रयास गर्ने बताए । उनले विज्ञापन क्षेत्रका सबै सरोकारवालाको सहयोग लिएर विज्ञापन बजारको विकास र विस्तारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले कसैको एक्लो प्रयासले सम्भव नहुने सामुहिक प्रयास र प्रतिवद्धता चाहिने बताए । बाह्य विज्ञापन होर्डिङ बोर्डमा रहेको ठेकेदारी प्रथाको अन्त्य गर्ने उनको भनाइ छ । उनले स्थानीय तह तथा प्रदेश सरकारले विज्ञापनको नमुना ऐन पारित नगरेकोमा चिन्ता व्यक्त गर्दे सबै स्थानीय तहलाई विज्ञापन कर आम्दानीको राम्रो स्रोत भएकोले ऐन पारित गर्न आग्रह समेत गरे ।
उनले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याइने पनि बताए ।