काठमाडौं : आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरु भएको छ । देशभर डिजिटल प्रविधि प्रयोग र सचेतना फैलाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम ‘आइसिटी ज्ञान’ सुरु गरिएको हो ।
कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण प्रदान गरिने फाउन्डेसनले जनाएको छ । यस अन्तर्गत कोशी र मधेश प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कोशी र मधेशको डिजिटल साक्षरता कार्यक्रममा पाँच सय बढीको सहभागीता रहेको थियो ।
कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा डिजिटल आधारभूत तालिम र साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको र मधेश प्रदेशको सप्तरी र सर्लाही जिल्लामा मोबाइल बैंकिङ र अनलाइन पेमेन्ट प्रणालीको प्रयोग प्रवद्र्धनमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले आइसिटी ज्ञान पहलले डिजिटल रूपान्तरणको युगमा सचेतना जगाउने र डिजिटल खाडँललाई अन्त्य गर्न पुलको काम गर्ने बताइन् ।
यस्तै, कार्यक्रमको बारेमा आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल विभेद अन्त्य गर्न र सूचना प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए । समुदायस्तरबाट सीप विकासले सामाजिक–आर्थिक क्षेत्रमा दिगो परिवर्तन ल्याउने विश्वास गरिएको उनको भनाइ छ ।
एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रमको रूपमा अगाडि बढेको डिजिटल साक्षरता कार्यक्रम कोशी र मधेशपछि क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन हुने जनाइएको छ । कार्यक्रम अन्तर्गत बागमती प्रदेशको दोलखा र सिन्धुपाल्चोकमा सामाजिक सञ्जाल व्यवस्थापन र डेटा गोपनीयतासम्बन्धी तालिम दिइने छ भने गण्डकी प्रदेशमा स्याङ्जा र मनाङ जिल्लामा क्लाउड सेवा र डिजिटल उद्यमीका उत्कृष्ट अभ्यासहरू अघि बढाइने छ ।
त्यसैगरी लुम्बिनी प्रदेशको बाँके र प्युठानमा कृषि डिजिटलाइजेशन तथा कृषक मोबाइल एप्सको प्रयोग विस्तारमा, कर्णाली प्रदेशको दैलेख र सल्यानमा विद्युतीय सुशासन प्रणाली र डिजिटल वित्तीय समावेशीतामा तथा सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्लामा सरकारी सेवा ई–गभर्नेन्स र अनलाइन प्लेटफर्मका विषयमा साक्षरता दिइने छ ।