काठमाडौं : नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’ (एचटीएम) को पाँचौं संस्करण मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल एयरलाइन्स लगायत प्रमुख पर्यटन संघसंस्था तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा यो मार्ट आयोजना गरेको हो ।
मार्टमा ३० भन्दा बढी देशका १ सय बढी विदेशी पाहुना सहित पर्यटनकर्मी, सरोकारवाला गरी ७ सय प्रतिनिधि सहभागी छन् । २२ जेठसम्म मार्ट सञ्चालन हुनेछ । मार्ट अन्तर्गत आज पहिलो दिन ‘माउन्टेन माइलस्टोन एन्ड मोमेन्टम’ विषयक सम्मेलन आयोजना गरिएको छ ।
सम्मेलनका वक्ताले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालका गन्तव्यलाई विश्वसामु उजागर गर्दै दिगो पर्यटन विकासका लागि मार्ट उपयोगी हुने बताए ।
उनले पछिल्लो समय पर्यटनका नयाँ क्षेत्र थपिँदै गएको उल्लेख गरे । ‘करिब ३० वर्षअघि नेपालको ग्रामीण क्षेत्र ७० प्रतिशत थियो, तर अहिले यो अनुपात ५०–५० प्रतिशत भएको छ’, सीईओ जोशीले भने, ‘हामी जति सहरीकरणतर्फ गइरहेका छौं, पर्यटन त्यति नै प्रकृतिमा आधारित बन्दै गएको छ ।’
सम्मेलनमा पाटाका आजीवन सदस्य एन्ड्रियो जोन, पाटा बंगलादेश च्याप्टर अध्यक्ष साहिद हमिद, नायिक निशा अधिकारीले आफ्ना धारणा राखेका थिए । मार्ट संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तर्राष्ट्रिय स्रोत बजारमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराइ नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले पर्यटन मार्ट आयोजना गरिएको बताए ।
सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हुँदै आएको मार्ट नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्था, पेसेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर प्रदान गर्ने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।
मार्ट अन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् । त्यसैगरी बीटुबी कार्यक्रम अन्तर्गत यस वर्ष मार्टले अमेरिका, युरोप, अस्ट्रेलिया, दक्षिण अफ्रिका, रुस तथा सीआईएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बंगलादेश र श्रीलंका गरी ६ गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी विक्रेता सहभागी हुने बोर्डले जनाएको छ ।