काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि अघिल्लो बिहीबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका अध्यक्ष गैरेको बिहीबार साँझ ५ बजेर ५० मिनेट जाँदा निधन भएको उपचारमा संलग्न चिकित्सकले घोषणा गरेका थिए ।
अध्यक्ष गैरेको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई बुधबार रातिबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरमा नै उपचार भइरहेका बेला अचानक मुटुको धड्कन रोकिएका कारण अध्यक्ष गैरेको निधन भएको संघका महासचिव सुजित कुमार श्रेष्ठले मध्यान्हलाई जानकारी दिए ।
विगत २५ वर्षदेखि निरन्तर वैदेशिक रोजगार व्यवसायमा संलग्न ५६ वर्षीय गैरे संघको २०७६ साल असोज ७ गते भएको कार्यसमिति निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।
राज ओभरसीज प्रा.लि.बाट वैदेशिक रोजगार व्यवसायमा प्रवेश गरेका स्व. गैरे डेष्टिनी ओभरसिज, हेराल्ड इन्टरनेशनल हुँदै पछिल्लो पटक अक्सन ईण्टरनेशनल प्रा.लि.को सञ्चालक रहेका थिए । स्व. गैरेले विगतमा संघको उपमहासचिव र द्वितीय उपाध्यक्ष भई काम गरेको संघका पूर्व प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले जानकारी दिए । सरल स्वभावका स्व. गैरेले व्यवसायीबीच स्वच्छ र इमान्दार छवि बनाएका थिए ।
संघको अध्यक्षसँगै उनी यसै वर्ष नेपाल उद्योग बाणिज्य महासंघ बस्तुगत तर्फको कार्यकारिणी समितिको सदस्यमा निर्वाचित भएका थिए । उनी महासंघद्वारा वैदेशिक रोजगार क्षेत्रका समस्याहरुको पहिचान र समाधानका लागि गठित वैदेशिक रोजगार व्यवसायी फोरमका संयोजक समेत रहेका थिए । स्व. गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष समेत हुन् ।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका स्व. गैरे कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं ११ सडवाका स्थायी वासिन्दा हुन् । स्व. गैरेका श्रीमती, एक छोरी र एक छोरा छन् ।
व्यवसायी गैरेको निधनप्रति वैदेशिक रोजगार व्यवसायीहरुले ईमान्दार नेतृत्व गुमाएको भन्दै गहिरो शोक व्यक्त गरेका छन् । संघले आफ््ना अध्यक्षको असामायिक निधनको शोकमा तीन दिन कार्यालय बन्द गरी शोकवरण गर्ने बताएको छ भने शुक्रबार एकदिन आफ्ना कार्यालय बन्द गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरुलाई आह्वान गरेको छ ।
एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले शोक बक्तव्य जारी गर्दै आफ्ना पूर्व अध्यक्ष गैरेको कोभिड–१९ को उपचारका क्रममा मृत्यु भएको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, वैदेशिक रोजगार व्यवसायी तमुधीः समाज, वैदेशिक रोजगार पत्रकार समाज, संघका पूर्व अध्यक्षहरु एवं व्यवसायीहरुले गैरेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
आफ्नो कार्यकालमा स्व. गैरेले वैदेशिक रोजगार ऐन र नियमावलीमा परिवर्तन, ईजाजतपत्र नवीरण गर्न वार्षिक सय जना कामदार अनिवार्यरुपमा पठाउनु पर्ने व्यवस्था हटाउनुपर्ने प्रावधानको खारेजी, सेवा शुल्क परिमार्जन गरेर भारत, पाकिस्तान र बंगलादेशका म्यानपावर कम्पनीले पाउने सरह गरिनुपर्ने, मागपत्र प्रमाणीकारण र श्रम स्वीकृतिको झन्झटिलो प्रक्रिया हटाउनु पर्ने, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालको अनुमति तत्काल दिइनु पर्ने, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको कार्य प्रणलीमा सुधार लगायतका माग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागमा राख्दै आएका थिए । तर यी माग पूरा नहुँदै उनको निधन भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies