
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको गैरकानुनी कामले हद नाघेको आरोप लगाएका छन् । पार्टी कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना गम्भीर आपत्तिजक भएको बताए । प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति सामान्य नभएको उनको भनाइ छ । कांग्रेसले सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने र राष्ट्रिय संकटका बेला सरकारसँगै उभिने गरेपनि लोकतन्त्र र नागरिक अधिकारको सवालमा भने सरकारको गलत कदमको प्रतिवाद गर्ने बताए ।
समाचार प्रकाशित भएको विषयलाई लिएर प्रहरी सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको उनको भनाइ छ । उनले नागरिक दबाबपछि पक्राउ परेका पत्रकारहरु छुटेपनि यस घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्र सीमित गर्न नहुने बताए ।
यसले सरकारले राज्य, आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो । उनले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे । सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिप्रति नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई सचेत हुन उनले आग्रह पनि गरे ।
उनले सरकारको अधिकारको प्रयोग कानुनी सीमाभित्र हुनुपर्नेमा जोड दिए । कांग्रेसले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका विषयमा सरकारलाई निरन्तर प्रश्न गर्ने तथा आवश्यक परे प्रतिरोधसमेत गर्ने उनको भनाइ छ ।