काठमाडौं : इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. (आईएमआर) अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)बाट इन्टरनेशनल रिक्रुटमेन्ट सिष्टम (आईरिस)अन्तर्गत प्रमाणीकरण भएको छ । आईरिसअन्तर्गत मान्यता पाइ प्रमाणीकरण भएको उक्त कम्पनी नेपालमा पहिलो वैदेशिक रोजगार कम्पनी भएको उक्त प्रा.लि.ले बताएको छ ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका संचालक प्रबन्ध निर्देशक वाइबी राईले विगत ९ वर्षदेखि कडा अनुशासनमा रहेर पूर्णरूपमा अवलम्बन गरिएको न्यायोचित र नैतिक भर्ना प्रक्रियाको मूल्यांकन गरेर आईओएमबाट आफ्नो कम्पनी आईरिसअन्तर्गत प्रमाणित भएको जानकारी दिए ।
सन् २००४ देखि खाडी तथा मलेसियासहित विश्वका विभिन्न देशमा कामदार पठाउँदै आएको उक्त कम्पनीले सन् २०१६ देखि न्यायोचित र नैतिक भर्ना प्रक्रियाको प्रारम्भ गरी सन् २०१८ देखि श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सिद्धान्तमा आधारित स्वच्छ श्रमिक भर्ना प्रक्रिया अपनाउँदै आएको छ ।
सन् २०२१ देखि आईओएमबाट सञ्चालित न्यायोचित र नैतिक भर्ना प्रक्रियासम्बन्धी तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी हुँदै आएको उक्त कम्पनीले क्षमता अभिवृद्धिसम्बन्धी चरण पूरा गरेर पूर्व लेखापरीक्षण समेत सम्पन्न गरेपछि आईओएमले सन् २०२३ अगष्ट महिनामा उक्त कम्पनीआई आईरिस प्रमाणीकरणका लागि सिफारिस गरेको प्रबन्ध निर्देशक राईले बताए ।
सिफारिसपछि आईओएमले गहन र विस्तृत लेखापरीक्षण गरेर सन् २०२५ को मे २८ मा औचारिकरूपमा आईरिस प्रमाणपत्र प्रदान गरेको थियो । प्रबन्ध निर्देशक राईले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न आफ्नो कम्पनीले निरन्तररूपमा अन्तर्राष्ट्रिय असल अभ्यासहरू सिक्नुका साथै आफ्ना व्यावसायिक प्रक्रियाहरू सुधार गरेकाले यो सफलता प्राप्त गरेको बताए ।
कम्पनीले हालसम्म १८ हजारभन्दा बढी नेपाली कामदारलाई मलेसिया, कतार, यूएई र साउदी अरेबियामा स्वच्छ एवं नैतिक भर्ना प्रक्रियाका माध्यमबाट निःशुल्क वैदेशिक रोजगारीमा पठाएको बताएको छ ।
सन् २०१६ सम्म कामदारले लागत व्यहोर्नुपर्ने वा रोजगारदाताले व्यहोर्नुपर्ने ‘हाइब्रिड’ प्रणाली र त्यसपछि पूर्णरूपमा न्यायोचित र नैतिक भर्ना प्रक्रिया अवलम्बन गरेको अनुभव सुनाउँदै प्रबन्ध निर्देशक राईले न्यायोचित र नैतिक भर्ना प्रक्रियाको माध्यमबाट कामदार पठाउँदा व्यवसाय झन्झटमुक्त, आर्थिकरूपमा पारदर्शी र सामाजिकरूपमा आत्मसन्तुष्टि प्राप्त भएको अनुभव सुनाए ।
व्यवसायी राईले नेपालको सन्दर्भमा न्यायोचित र नैतिक भर्ना प्रक्रियाबाट वैदेशिक रोजगारीमा कामदार पठाउनु व्यावसायिकरूपमा चुनौतीपूर्ण र कठिनाइले भरिएको भएपनि आईएमआरले आफूलाई सुधार गर्दै नैतिक भर्ना प्रक्रियालाई जुनसुकै प्रतिकूल अवस्थामा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको बताए ।
उनले भने, ‘इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले नैतिक भर्ना प्रक्रियालाई निरन्तरता दिनेछ, म सबै म्यानपावर कम्पनीलाई नैतिक भर्ना प्रक्रिया अपनाउन आग्रह गर्दछु । किनभने आगामी दिनमा अन्तर्राष्ट्रिय श्रम बजारमा न्यायोचित र नैतिक भर्ना प्रक्रियाको आवश्यकता र महत्व बढेर जानेछ ।’
उनले सरकारले पनि नैतिक भर्ना प्रक्रियाबाट कामदार पठाउने विषयमा कडाइका साथ अनुगमन गरेर कमीकमजोरी हटाएर यसको विश्वसनीयता बढाउन जरुरी रहेको बताए ।
उनले वैदेशिक रोजगारमा कामदार भर्ना तथा छनोटको प्रक्रियामा कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरूको पूर्णरूपमा पालन गर्ने, नेपाल र अन्तर्राष्ट्रिय कानुनी आवश्यकताहरूको पालना गराउने, कामदारको अधिकारको सम्मानमा समान र निष्पक्ष प्रतिस्पर्धा, स्वस्थ र सुरक्षित काम गर्ने वातावरणको सुनिश्चितता, करारको पालना तथा राहदानी आफैंले राख्न पाउने व्यवस्थाको ग्यारेन्टी, स्वदेश आवागमनको स्वतन्त्रता र स्वतन्त्र रूपमा रोजगारी छनोटको सम्मान जस्ता विषयमा पनि उचित ध्यान पुर्याउने पनि कम्पनीको नीति रहेको बताए ।
पूर्णरूपमा न्यायोचित र नैतिक भर्ना प्रक्रिया अवलम्बन गरेका कारण ओटीएल, जीएलएए, सेडेक्स, एसभीएपीलगायत विभिन्न अन्तर्राष्ट्रिय सम्मान र प्रमाणपत्र पाएको बताउँदै व्यवसायी राईले ती प्रमाणपत्र र मान्यताहरूले कम्पनीले अवलम्बन गरेको न्यायोचित र नैतिक भर्ना प्रक्रियाप्रतिको प्रतिबद्धताको प्रमाण भन्दै त्यसले कम्पनी परिवारलाई निरन्तररूपमा स्तर अभिवृद्धि गर्न प्रेरणा दिइरहेको टिप्पणी गरे ।
कम्पनीका निर्देशक प्रणय राईले कम्पनीले न्यायोचित र नैतिक भर्ना प्रक्रियालाई निरन्तरता दिनुका साथै कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्य गरेको बताए । तराईको अति विपन्न समुदायमा पर्ने डोम समुदाय तथा अघिल्लो वर्ष जाजरकोटमा आएको विनाशकारी भूकम्पबाट घरबास गुमाएका विपन्न परिवारका करिब २ सय युवाहरूलाई निःशुल्क वैदेशिक रोजगार उपलब्ध गराएको उनले बताए । उनले न्यायोचित र नैतिक भर्ना प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कामदारले प्राप्त गरेको सफलताले कम्पनीलाई थप हौसला मिलेको उल्लेख गरे ।