२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

साउदीसँग सामान्य र दक्ष श्रमिक लैजाने सहमति

२०८२ जेठ २८ गते ०६:१५
साउदीसँग सामान्य र दक्ष श्रमिक लैजाने सहमति

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच सामान्य र दक्ष नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनअन्तर्गत सोमबार जेनेभामा भएको द्विपक्षीय साइडलाइन छलफलका क्रममा नेपाल र साउदी अरेबियाबीच सामान्य र दक्ष श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमति भएको मन्त्री भण्डारीको सचिवालयले बताएको छ ।

साउदी अरेबियाले नेपालबाट सामान्य, दक्ष र घरेलु कामदार लैजाने चाहना राख्दै आएको छ । सचिवालयका अनुसार मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिक गरी तत्काल दुई वटा सम्झौता गर्ने सहमति भएको बताए । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ । त्यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ । 

साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो । अहिलेको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने टुंगो लगाएको बताइएको छ ।

श्रममन्त्री भण्डारीले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको जानकारी साउदी पक्षलाई गराउँदै यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिएका छन् । यूएईसँग त्यस्तै सम्झौताका लागि गृहकार्य भइरहेको छ ।

श्रममन्त्री भण्डारीले जेनेभा बैठकले साउदी अरेयिबासँग सामान्य श्रम सम्झौता र सीप प्रमाणीकरण कार्यक्रममा हस्ताक्षर गर्ने बाटो खोलिदिएको बताए । विगतमा साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा नेपालले सहमति जनाएर औपचारिकरूपमा परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई पठाइसकेको छ । त्यस मस्यौदामा अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषयहरू समावेश गरिएको नेपालको भनाइ छ ।

ADV

सम्बन्धित खबर