२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

जेनेभामा मन्त्री भण्डारीको भेटघाट जारी

२०८२ जेठ २८ गते ०६:२०
जेनेभामा मन्त्री भण्डारीको भेटघाट जारी

जेनेभा : अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११३औं सत्रलाई सम्बोधन गर्न जेनेभा आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भेटघाट र द्विपक्षीय छलफललाई जारी राखेका छन् । 

मंगलबार बिहान मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ. हौङबोसँग भेटघाट गरे । जेनेभास्थित स्थायी नेपाली नियोगका अनुसार त्यस अवसरमा मर्यादित रोजगारी, सीप, सामाजिक सुरक्षा र श्रम बसाइँसराइका क्षेत्रमा नेपाल–आईएलओ सहकार्यलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल भएको थियो ।

मन्त्री भण्डारीले मंगलबार नै साउदी अरेबियाका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग भेटघाट गरेका थिए । साउदी अरेबियासँग द्विपक्षीय श्रम सम्झौताको रूपरेखाको शीघ्र निष्कर्षको बारेमा छलफल र सहमति भएको छ ।

त्यस्तै श्रममन्त्री भण्डारीले स्विस कन्फेडेरेसनको आर्थिक मामिलाका लागि राज्य सचिवालयको स्विस श्रम निर्देशनालयका प्रमुख जेरोम कोसान्डेसँग पनि छलफल गरेका छन् । छलफल नेपालमा सुरक्षित बसाइँसराइ र सीप विकासका क्षेत्रमा नेपाल–स्विट्जरल्याण्ड सहकार्यका बारेमा केन्द्रित रहेको जेनेभास्थित नेपाली नियोगले बताएको छ । मंगलबार  साँझ मन्त्री भण्डारीले नेपाली स्थायी नियोगको भ्रमण गरी जेनेभामा नेपालको गतिविधि, प्राथमिकता र संलग्नताको बारेमा जानकारी लिए ।

सम्मेलनको ११३औं सत्रलाई सोमबार सम्बोधन गरेका मन्त्री भण्डारीले समावेशी वृद्धिलाई प्रवद्र्धन गर्ने, श्रम गतिशीलता व्यवस्थापन गर्ने र देशमा सामाजिक सुरक्षा कभरेज विस्तार गर्ने दिशामा नेपालको प्रयासहरूबारे जानकारी दिएका छन् ।

श्रम अधिकारको संरक्षण, मर्यादित रोजगारी प्रवद्र्धन, विश्वव्यापी, समावेशी र दिगो सामाजिक सुरक्षा सुनिश्चित गर्ने नेपालको प्रतिबद्धता दोहो¥याए । उनले आन्तरिक रोजगार प्रवद्र्धनको दशक २०२५–२०३५ मा नेपालभित्र सम्मानजनक रोजगारी सिर्जना, व्यवस्थापन र नियमन गर्ने दृष्टिकोण राखेका छन् । मन्त्री भण्डारीले मानव–केन्द्रित रोजगारी प्रवद्र्धन गर्न सामूहिक कार्यका लागि आह्वान गरेका छन् ।

११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । संयुक्त राष्ट्रसंघ र जेनेभास्थित अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, श्रम मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर, अर्थ मन्त्रालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि नेपालको स्थायी नियोग र नेपाली रोजगारदाता तथा कामदारहरूको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू सम्मेलनमा सहभागी रहेका छन् ।

मन्त्री भण्डारी सम्मेलनमा भाग लिन ७ जुन, २०२५ मा जेनेभा आएका हुन् । मन्त्री भण्डारीले मलेसियालगायतका समकक्षीसँग पनि छलफल गरी वैदेशिक रोजगारीका क्षेत्रमा रहेका सम्भावना र चुनौतीहरूबारे छलफल गर्ने मन्त्री भण्डारीको निजी सचिवालयले बताएको छ ।

ADV

सम्बन्धित खबर