अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आगामी ५ वर्षभित्र नगर क्षेत्रलाई बीउ उत्पादन र तरकारी खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । अब नगर क्षेत्रभित्रका कृषकहरूले आवश्यक बीउका लागि बाहिर जानु नपर्ने वातावरण बनाउने उद्देश्यसहित पालिकाले योजनाबद्ध रूपमा कृषि अभियान अघि बढाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीका अनुसार नगर क्षेत्रभित्र मकै, गहुँ, धान, आलु, प्याज, केराउ, मुला जस्ता बालीको बीउ उत्पादनमा आत्मनिर्भरता हासिल गर्न लागिएको हो । ‘आर्थिक विकासको मूल आधार कृषि भएकाले कृषि पेशामार्फत बेरोजगारी समाधान गर्न सकिने विश्वासका साथ हामीले यो अभियान सुरु गरेका हौं,’ नेपालीले भने ।
पालिकाले उत्पादन गरेको प्याजको बिक्री वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । यस वर्ष मात्रै प्याज बिक्रीबाट १० लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ ।
अहिले भूमिकास्थानका अधिकांश वस्तीहरूबाट बसाइँसराइको दर तीव्र गतिमा बढेको छ । गाउँका घरहरू खाली छन्, खेतीयोग्य जमिन बाँझै छन् र झाडीकाँडाले भरिएका छन् । यस्ता जमिनलाई पुनः उत्पादनमा ल्याउने उद्देश्यले पालिकाले तीन वर्षदेखि ‘कर्मशील जनशक्ति रोजगार कार्यक्रम’ मार्फत खेतीपाती गर्न थालेको हो ।
नेपालीका अनुसार, नगर क्षेत्रका वडाहरू २, ५, ७ र ९ मा प्याज खेती विस्तार गरिएको छ । पहिलो वर्ष ७२ किलो प्याजको बिरुवा राखेर थालिएको अभियानअन्तर्गत यस वर्ष २०० किलो प्याज बिरुवाबाट २२ टन प्याज उत्पादन भएको छ । धान, मकै तथा विभिन्न सिजनअनुसारका तरकारीको बीउ समेत उत्पादन गरेर बजारमा वितरण थालिएको छ ।
नगर प्रमुख झविलाल थापाका अनुसार नगरपालिकाले कार्यविधि बनाएरै बाँझो जमिन लिजमा लिएर खेती सुरु गरेको हो । ‘हामी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने बाटोमा छौं । कार्यविधिमार्फत खेती विस्तार र बीउ उत्पादन प्रभावकारी बन्दै गएको छ,’ उनले भने ।
यस वर्ष प्याजसँगै कोदो, गहत र रैथाने बालीहरू पनि विभिन्न ठाउँमा लगाइएको छ । पालिकाले जग्गा लिजमा लिन वार्षिक प्रतिरोपनी एक हजार रुपैयाँ वा निःशुल्क उपलब्ध गराउन सूचना जारी गर्छ । धेरै ठाउँमा स्थानीय जग्गाधनीहरूले स्वेच्छाले जग्गा निःशुल्क उपलब्ध गराएको पालिकाले जनाएको छ ।
कृषिसँगै घरेलु उद्योग र विकास निर्माणमा पनि ‘कर्मशील जनशक्ति’ परिचालन भइरहेको योजना अधिकृत हरिशचन्द्र भुसालले बताए । पालिकाको कुल क्षेत्रफल १५९.१३ वर्ग किलोमिटरमध्ये ४,५६४ हेक्टर जमिन खेतीयोग्य छ । ‘जहाँ बाँझो त्यहाँ नगरपालिका’ भन्ने नारासहित भूमिकास्थानले कृषि अभियानलाई गम्भीरतापूर्वक अघि बढाएको छ ।