२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'गुन्यो चोलो'मा नाजिरको फरक अवतार

ADV
मध्यान्ह
२०८१ असार २७ गते १२:२९
'गुन्यो चोलो'मा नाजिरको फरक अवतार

काठमाडौं : भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र 'गुन्यो चोलो- कमिङ अफ एज अफ अ गर्ल' उर्फ 'गुलाबी'को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यही कात्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने पक्का भएको छ ।

बिहीबार निर्माण टिमले नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा नाजिरको होसै उडाउने लुक्स देख्न सकिन्छ । नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ । सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मिहिनेत गरेका छन् भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले 'गुन्यो चोलो'कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए ।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन् । उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन् । उनको शरीरमा चोटको निशान छ । उक्त चोटको निशानले नाजिरको पीडा देखाउँछ । नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको 'ट्रान्सवुमन लुक्स' आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम 'गुलाबी' राखिएको छ ।

यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । चलचित्रमा उनले गरेको मिहिनेत पनि कम छैन । नाजिरले यस चलचित्रको चरित्र निर्माणका लागि जति संघर्ष गरेका छन, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उत्तिकै मिहिनेत गरेकी छिन् । निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु 'निलहिरा समाज' र 'मितीनी नेपाल'सँग पनि परामर्श गरेकी थिइन् । धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा आफ्नो ज्यान भरेकी हुन् । चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन् । 'गुन्यो चोलो'ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन् ।

अमेरिकी कम्पनी 'भिजन इन्टरटेन्मेन्ट' र 'दि स्काई ओसन इन्टरटेन्मेन्ट' को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ । चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ ।

चलचित्रको थिममात्र नभएर प्रोडक्सन पनि ए-वान छ । चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनकाे काम बाहिर गरिएको हो । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड  म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ । यसैबाट पनि चलचित्रको गुणस्तर मापन गर्न सकिन्छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र 'ग्ल्याडिएटर-२' यही डिसेम्बरमा आउँदैछ ।

नेपालको पहिलो पूर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाइन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ । चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise