२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

इजरायल–इरान द्वन्द्व : त्रासमा कामदार, सुरक्षित रहन दूतावासको आग्रह

shivam cement
२०८२ असार २ गते ०६:१०
इजरायल–इरान द्वन्द्व : त्रासमा कामदार, सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं : इजरायल र इरानबीचको द्वन्द्व चर्केपछि वैदेशिक रोजगारीमा त्यस क्षेत्रमा रहेका नेपाली कामदारहरूमा त्रास बढेको छ । तत्कालै समस्या समाधान नभएको अवस्थामा त्यसको प्रभाव समग्र मध्यपूर्व क्षेत्रमा फैलिने सम्भावना हुँदा त्यहाँ काम गरिरहेका नेपालीको सुरक्षाको व्यवस्था र रोजगारीमा नकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार हाल इजरायलमा ७ हजार नेपाली कार्यरत रहेका छन् । द्वन्द्व बढेमा वैदेशिक रोजगार विभागले पठाउने तयारी गरेका थप नेपाली तत्कालै प्रभावित हुने छन् । यसअघि इजरायलका सुरक्षा प्रणालीले आफ्नो सिमानामा बाहिरबाट प्रहार गरिएका क्षेप्यास्त्र र मिसाइल ध्वस्त पार्ने गरेका थिए । त्यसले इजरायलीसहित त्यहाँ कार्यरत विदेशी कामदार आफ्नो सुरक्षामा ढुक्क थिए ।

तर यसपटक परिस्थिति फेरिएको छ । इरानी क्षेप्यास्त्र राजधानी जेरुसेलमका सडकमा बज्रिएका छन् । इजरायली सेनाले १० जनाको मृत्यु भएको बताएको छ । सडक सुनसान छन् भने सबै  विमानस्थल बन्द गरिएको छ । विगतका घटना भन्दा यसपटक परमाणु केन्द्रहरूलाई निशाना बनाइएको घटनाले धेरैलाई त्रसित बनाएको छ । इरानले इजरायलका मिलिट्री इन्धन डिपोमा निशाना बनाउने गरेका कारण ठूलाठूला दुर्घटनाका त्रास बढेको छ ।

दुई वर्षअघि प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा लर्न एन्ड अर्न कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएपछि युद्धले नेपालीलाई तर्साउने गरेको छ । उक्त घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको अन्तर्राष्ट्रिय प्रयास हुँदा पनि अवस्था अझै अज्ञात छ ।

अधिकांश नेपाली अतिवृद्ध र अशक्त अवस्थामा रहेकाको हेरचाहमा खटिएका कारण चाहेको समयमा ज्यान जोगाउन बंकरमा जान सजिलो छैन । आफू बंकरमा जाँदा आफ्नो हेरचाहमा रहेका वृद्ध अवस्थाका बिरामीलाई पनि बंकरमा पुर्‍याउनुपर्ने बाध्यताले सुरक्षा जोखिम बढाएको बताइएको छ ।

इरानमा भने व्यक्तिगत श्रम स्वीकृतिका आधारमा फाट्टफुट्टमात्रै नेपाली पुगेका छन् । त्यसबाहेक इरान र इजरायलसँग सीमा जोडिएका इराक, लेबनानमा समेत हजारौंको संख्यामा नेपाली श्रमिकहरू रहेकाले उनीहरू पनि समस्यामा पर्ने छन् । युद्ध चर्केको अवस्थामा सबैभन्दा पहिले भिजिट भिसाजस्ता अवस्थामा गएका नेपाली समस्यामा पर्ने बताइएको छ । कोरोना महामारीको अवस्थामा पनि भिजिट भिसामा गएकाहरू सबैभन्दा बढी समस्यामा परेका थिए ।

इरान र इजरायल द्वन्द्वमा संलग्न हुनेबित्तिकै उनीहरूसँग स्थल, जल र हवाई बाटोबाट जोडिने पूरै खाडी नै प्रभावित हुने र त्यसले महँगी बढाइ न्यून तलब हुने आप्रवासी कामदार तुरुन्तै प्रभावित हुने पनि धेरैले टिप्पणी गरेका छन् । दुई चीर प्रतिद्वन्द्वी इजरायल र इरानबीचको द्वन्द्वका कारणले कच्चा तेलको मूल्य वृद्धि भइसकेको छ । यो युद्धमा अमेरिकी भूमिका पनि महत्वपूर्ण ठानिएको छ । कतिपयले अमेरिका हाल युद्ध भन्दा व्यापार कूटनीतिमा रहेकाले इजरायल–इरान द्वन्द्व नचर्किने र नेपाली कामदार रहेका खाडी मुलुकहरू पनि शान्ति र मेलमिलापको बाटोमा लाग्ने भएकाले स्थिति प्रतिकूल हुनुअगावै शान्तिका लागि दबाब सिर्जना हुने पनि विश्लेषण गरिएको छ ।

सुरक्षित रहन आग्रह

इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति भइरहेको जनाउँदै इजरायलस्थित नेपाली दूतावासले सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न पनि भनेको छ ।

युद्धका कारण शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द गरिएको छ भने सभा/भेलामा रोक लगाइएको छ । इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन पनि दूतावासले आग्रह गरेको छ । 

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासको आग्रह छ । ‘इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गर्छौं,’ दूतावासले भनेको छ ।

सुरक्षाका लागि पहल गर्न माओवादी माग

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरूको सुरक्षाका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

करिब ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरु इरानमा पनि रहेको भन्दै उनले उद्धारका लागि छिटो पहल गर्न आग्रह गरे । उनले इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि कूटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्नुपर्ने बताए ।

सचिव पौडेलले भने, ‘इजरायल र इरानबीच भीषण लडाइँ भइरहेको छ । ७ हजारभन्दा बढी नेपालीहरु इजरायलमा छन् । केही संख्यामा इरानमा पनि नेपालीहरू रहेका छन् । उहाँहरुको सुरक्षाको निम्ति नेपाल सरकारले के पहल गरिरहेको छ ? उहाँहरुको सुरक्षाका लागि कूटनीतिक वृत्तबाट तदारुकतासथ पहल होस् ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise