काठमाडौं : नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आगामी साउन २ गते साधारणसभा गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै मञ्चका अध्यक्ष जनक रावलले त्यसका लागि असार १८ गतेभित्र तोकिएका कागजातसहित प्रतिनिधि पठाउनुपर्ने बताएका छन् ।
प्रतिनिधि पठाएको निवेदन, इजाजतपत्र र शेयर लगत, तोकिएको लेबीसहित प्रतिनिधि व्यवसायीका नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र २ प्रति फोटोसहित प्रतिनिधि पठाउनुपर्ने सूचनामा उल्लेख छ । प्रतिनिधि संकलनका लागि मञ्चले कार्यसमितिका २० जना व्यवसायीलाई खटाएको छ ।
राष्ट्र निर्माणको आधार सुरक्षित वैदेशिक रोजगार भन्ने अधिवेशनको मुल नारा तय गरेको मञ्चले वैदेशिक रोजगार क्षेत्रमा सुधारका लागि पार्टीको माथिल्लो पंक्तिमा ध्यानाकर्षण गर्नुपर्ने अवस्था देखिएको अध्यक्ष रावलले बताए । उनले हाल १ हजार ४३ वैदेशिक रोजगार व्यवसायी संस्था रहेकोमा मञ्चको अधिवेशनमा ३५० को हाराहारीमा व्यवसायी सहभागी हुने बताए ।