२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ जनाको आवेदन, ५५ लाख राजस्व संकलन

shivam cement
भरत प्रधान
२०८२ असार ३ गते २०:२३
राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ जनाको आवेदन, ५५ लाख राजस्व संकलन

लिस्बन : विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट २५२ जना नेपालीको राहदानी आवेदन संकलन गरिएको छ । राहदानी विभाग काठमाडौं र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न गरेको दुई दिने घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरिएको हो ।

शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका र हराएका गरी कुल २५२ जनाको जैविक विवरणसहितको आवेदन संकलन गरिएको म्याड्रिडस्थित नेपाली दूतावासका सहचारी विपिन चन्दले जानकारी दिए । नयाँ राहदानी बनाउनका लागि आवेदन दिनेमा राहदानी क्षति भएका र नष्ट भएकाहरूको संख्या धेरै रहेको उनले बताए । शिविरबाट करिब ३५ हजार युरो अर्थात् झण्डै ५५ लाख रुपैयाँ राजस्व संकलन भएको चन्दले बताए ।

आलिकान्ते क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सहजताका लागि राहदानी विभागसँगको समन्वयमा घुम्ती शिविर सञ्चालन गरेर राहदानी सेवा प्रदान गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवालाई नेपाल समाज एशोसियसन कोष्टाव्लांका, एनआरएनए कोष्टाव्लांका लगायतका नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

घुम्ती शिविरमार्फत बेनिड्रोममै सेवा पाउँदा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीहरूले राहत मिलेको भन्दै खुशी व्यक्त गरेको शिविर संयोजक असिम लोप्चनले बताए । शिविरमा काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, मुर्सिया, टोरटोसालगायतका क्षेत्रमा बस्ने नेपालीहरूले सेवा लिएको उनले बताए । राहदानीसम्बन्धी समस्या परेका आलिकान्ते क्षेत्रका नेपालीहरूको सहजताका लागि दूतावासलाई आग्रह गरेर घुम्ती शिविर सञ्चालन गरिएको संयोजक लोप्चनले बताए ।

शिविरमा दूतावासका द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा ज्योत्सना काफ्ले, दूतावासका कर्मचारी लक्ष्मण शर्मा खटिएका थिए । शिविर संयोजक लोप्चनका अनुसार एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, एनआरएनए कोष्टाव्लांकाका अध्यक्ष सुरेश बज्राचार्य, नेपाल समाज एसोसिएसनका अध्यक्ष केसरबहादुर थापालगायतले शिविरको समन्वय र सहजीकरण गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise