काठमाडौं : २५ जेठ २०८२ मा ३७ जना नेपाली अमेरिकाबाट नेपाल आए । सहज अवस्था हुन्थ्यो भने उनीहरू नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको ओइरो हुन्थ्यो । अमेरिकाले जबरजस्ती फर्काएका उनीहरू विमानस्थलमा ओर्लिएपछि काम गर्दा गर्दैको अवस्थामा लिएर आएका बोरा बोकेर बाहिरिए । कत्तिले उनीहरूको दर्द भन्दा ज्यादा अमेरिका जान मरिहत्ते गरेका प्रसंग जोडेर खिसिट्युरी गरे । किनभने, अमेरिका जान लाखौं रकम खर्च गर्नेका कथा भेट्टाउन टाढा पुग्नु नपर्ने अवस्था छ ।
फेरिएको अमेरिकी नीतिले अवैध बाटोबाट अमेरिका पुगेकाहरू सुरक्षित छैनन् । वैध बाटोबाट गएका आप्रवासीप्रति समेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कठोर छन् । यसले अमेरिकामा रहेका आप्रवासीको आम्दानीदेखि उनीहरूको सम्मानपूर्ण जीवनमा समेत असर गर्दछ ।
एकातिर सर्वस्व गुमाएर अमेरिका पुगेकाहरूको नउकासिएको जीवन र अर्कोतिर आप्रवासीप्रति फेरिएको अमेरिकी नीतिले कैयन नेपालीको सपना तुहिएको छ । ७ वर्षमा ३९० नेपाली जबरजस्ती फर्काइनुले पनि धेरैलाई तर्साएको देखिन्छ ।
मानव बेचविखन अनुसन्धान ब्यूरोकाअनुसार पछिल्लो ७ वर्षमा ३९० जना नेपाली अमेरिकाबाट जबरजस्ती फर्काइएका छन् । जबरजस्ती फर्काइनेको संख्या दोस्रो कार्यकालमा डोनाल्ड ट्रम्प आएपछि ह्वात्तै बढेको देखिन्छ । ट्रम्पले गत जनवरी २० मा सत्ता सम्हालेका थिए । त्यसयता १६३ जना नेपाली अमेरिकाबाट निष्कासनमा परेका छन् । त्यसअघि हरेक वर्ष ७ देखि ८३ जनासम्म फर्काइने गरेका थिए । ट्रम्प सत्तामा पुनः आएपछि ह्वात्तै बढेको हो । यसरी फर्काइनेमा नेपालबाट अवैध बाटो हुँदै अमेरिका पुग्नेहरू ज्यादा रहेका छन् । उनीहरु १ करोड रुपैयाँसम्म बुझाएर अमेरिका पुगेका थिए । त्यो पनि सहजै पुगेका होइनन्, एक वर्षसम्म दश भन्दा धेरै देशको सीमा पार गर्दै पुगेका थिए । सीमा पार गर्दा पनि जंगलको कष्टकर बाटो पार गरेका थिए । अमेरिका पुग्ने सपना बोकेर कष्टकर यात्रा गर्नेहरूले एकातिर बिचौलियालाई लाखौं रकम बुझाएर गएका थिए, अर्कोतिर अमेरिकामा पुगेर पनि जीवन उकास्न सकिरहेका थिएनन् ।
यस्तैमा जबरजस्ती नेपाल फर्काइएपछि अन्य कैयनको अमेरिकी सपना आफैं खण्डित हुन पुगेको छ । अझ अमेरिका हिँडेका, तर बाटोमै अलपत्र परेकाहरूको कथा दर्दनाक छ । यस्तो अवस्था उजागर हुँदा अवैध बाटो भएर अमेरिका जान खोज्नेहरू आफैं हच्किने अवस्था बन्न पुगेको देखिन्छ ।