काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङको घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखाको धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरुङ रहेका छन् ।
पक्राउ परेकामध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै तीन जना पीडितबाट छ लाख र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट चार लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दर्शनलाई काठमाडौं–७ बाट बुधबार र सरेशलाई काठमाडौं–२६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।