काठमाडौं : इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरूको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले नेपाल फर्किन चाहने र उद्धारको माग गर्ने नेपालीहरूसँग तत्काल सम्पर्क गरी सोहीअनुसार यी दुई देशसँग समन्वय एवं कूटनीतिक पहलकदमी बढाउन सभा अध्यक्षमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए । विश्व शान्तिको कामना गर्दै राष्ट्रियसभा सदस्यहरूले यसबाट नेपाललाई पर्ने सम्भावित खतराबारे सरकारलाई सतर्कता अपनाउनसमेत आग्रह गरे ।
विशेष समयमा नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले इजरायल–इरान युद्धको मारमा नेपालीको स्थिति र सुरक्षाबारे सरकारलाई सदनसमक्ष जानकारी गराउन माग गरिन् ।
विशेष समयमा दलीय आधारमा उपलब्ध समयमा नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगर, नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार र नेकपा एमालेकी सांसद भगवती न्यौपानेले इजरायल–इरान युद्धले नेपालमा पर्ने प्रभावबारे सरकारको ध्यानार्कषण गराए ।
‘इजरायलमा झण्डै सात हजार र इरानमा एक दर्जन नेपाली छन् । सरकारले उहाँहरूको सुरक्षाका लागि केही कदम पनि चालेको छ, कूटनीतिक पहलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल फिर्ता गरियोस्,’ सांसद न्यौपानेले भनिन् ।
परराष्ट्र मन्त्रालयले बुधबार इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एड्भाइजरी) जारी गरेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका लागि सो जानकारी जारी गरेको हो ।
इजरायल र इरान तथा मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको र उनीहरूको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।