सन्धिखर्क : सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ११ करोड १४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरसभाको १७औं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, रोजगार र पूर्वाधार निर्माणमा विशेष जोड दिइएको जानकारी दिए ।
‘ब्राण्ड सन्धिखर्क, बिलिभ सन्धिखर्क’ भन्ने रणनीति अनुरूप समावेशी, समानुपातिक र सहभागितामूलक कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । सामाजिक विकासमा लगानीलाई प्राथमिकता दिइने नीति अनुसार अर्घाखाँची अस्पताललाई स्त्रीरोग, हाडजोर्नी, मानसिक रोग, आँखालगायत सेवा विस्तार गरी सुविधा सम्पन्न जिल्ला अस्पताल बनाइने उल्लेख छ ।
स्वास्थ्य क्षेत्रमा बाल स्वास्थ्य, पोषण, पूर्ण खोप कार्यक्रम, किशोरीका लागि आइरन चक्की र सेनेटरी प्याड व्यवस्थापन, रक्तअल्पता स्क्रिनिङ, बन्ध्याकरण अभियान र स्वास्थ्य संस्था भवन निर्माणको योजना सार्वजनिक गरिएको छ ।
शिक्षामा छात्रवृत्तिलाई निरन्तरता, शिक्षकलाई प्रोत्साहन भत्ता, पोषणमैत्री पूर्वाधार र विद्यालयमा मेयर बचत खुत्रुके कार्यक्रम विस्तार गरिनेछ । साथै, पाणिनि बहुमुखी क्याम्पसलाई दिइँदै आएको छात्रवृत्ति पनि यथावत् रहनेछ ।
पूर्वाधारतर्फ, नगरभित्रका सबै सडक निर्माण, चिस्यान केन्द्र व्यवस्थित गर्ने, एक वडा–एक खेलमैदान नीति अन्तर्गत खेलकुद लगानी बढाइने र मनोरञ्जनका लागि लदाम बगैँचालाई पार्कको रूपमा विकास गरिनेछ ।
कृषि तथा पशुपालन क्षेत्रमा हल गोरु पाल्नेलाई प्रोत्साहन, सामुदायिक बनमार्फत फलफूलका बिरुवा रोपण, सल्लो नरोप्ने नीति, कुकुरको बन्ध्याकरण, जोखिमयुक्त बस्ती व्यवस्थापन, रक गार्डेन संरक्षण, डिजिटल बोर्ड जडानजस्ता कार्यक्रम समावेश गरिएको छ । युवा किसानका लागि बिना धितो पाँच लाख रुपैयाँसम्मको ऋण, सहकारी संस्थाको मर्जर वा स्तरोन्नति तथा उद्योग फर्मको नविकरणका लागि तीन वर्षको कर छुटको व्यवस्था पनि गरिने उल्लेख छ ।
नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ ३२ करोड ३८ लाख ६७ हजार ७२५ र चालुतर्फ ५६ करोड ७५ लाख ३२ हजार २२५ विनियोजन गरिएको योजना शाखा प्रमुख दिलीप केसीले जानकारी दिएका छन् ।