नवलपरासी : बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल रु. ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ ।
चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल रु. एक अर्ब ३८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले बताए । लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसके पनि गत वर्षको तुलनामा ५.१३ प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए ।
संस्थागत आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि भएको छ भने मूल्य अभिवृद्धि कर संकलनमा १०.८८ प्रतिशतले वृद्धि भएको छ । अन्त:शुल्कतर्फको १०.६९ प्रतिशतले राजस्व संकलन घटेको छ । वस्तु उत्पादनमा कमी आएपछि आन्तरिक शुल्क घटेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु एक अर्ब २२ करोड संकलन गर्ने लक्ष्य लिएकामा रु. ८८ करोड राजस्व संकलन गरेको कर अधिकृत पोखरेलले जानकारी दिए । नवलपरासी जिल्लालाई कार्यक्षेत्र बनाएर २०७७ कात्तिक ४ गते स्थापना भएको कार्यालयमा हालसम्म २३ हजारभन्दा बढी करदाता रहेका छन् ।