२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्छौं : ऊर्जामन्त्री खड्का

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते १३:३४
क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्छौं : ऊर्जामन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठन (एससिओ)को सदस्य राष्ट्रको पाँचौंं ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।

चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रको जनसंख्या, स्रोत र सम्भावनालाई दृष्टिगत गरी लगानी प्रवर्द्धन एवं ऊर्जा व्यापारका लागि नवीन सोचसहित क्षेत्रीय ढाँचा निर्माण तथा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ तुल्याउनुपर्ने खाँचो औंल्याए ।

‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’ नाराका साथ सुरु भएको उक्त बैठकमा मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्द्धनका पक्षमा क्षेत्रीय एकता, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।

ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको नेपालले १५ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी योजना तथा कार्यक्रम अघि बढाएको जानकारी दिए ।

नेपालमा हाल करिब तीन हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र निकट भविष्यमा यो दोब्बर बनाउने योजनाका साथ काम भइरहेको उनले बताए ।

छिमेकी देशहरूसँग विद्युत् व्यापार सुरु गरिसकेको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बंगलादेशमा विद्युत् निर्यात गरेर त्रिपक्षीय ऊर्जा सहकार्यको नीति कार्यान्वयनमा आएको स्पष्ट पारे ।

एससीओको संवाद साझेदार राष्ट्रका रुपमा क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले आपसी सहयोग र सहकार्यका आधारमा वातावरण सन्तुलन, नवप्रवर्तन, दिगो विकासको अवधारणासहित ऊर्जा क्षेत्रको विकास एवं विस्तारका पक्षमा नेपाल रहेको स्पष्ट पारे । सो बैठकमा भाग लिन मन्त्री खड्का यही असार १० गते मंगलबार चीनतर्फ प्रस्थान गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise