अर्घाखाँची : भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८३ करोड ९४ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १७औं नगरसभामा नगर उपप्रमुख बालकृष्ण बन्जाडेले बजेट प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
उक्त बजेटमा कुल रकममध्ये ५४ करोड १६ लाख ८९ हजार रुपैयाँ चालु खर्चतर्फ र २९ करोड ७७ लाख ८५ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीका अनुसार बजेटका मुख्य स्रोतहरूमा संघीय सरकारबाट ७६ करोड ९३ लाख ७४ हजार, प्रदेश सरकारबाट ४ करोड ६९ लाख, आन्तरिक स्रोतबाट ८२ लाख तथा अघिल्लो वर्षको बाँकी रकमबाट २ करोड ३२ लाख रुपैयाँ रहेका छन् ।
नगरप्रमुख झविलाल थापाले बजेट र कार्यक्रम नागरिकको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले ल्याइएको जानकारी दिए । उनका अनुसार नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा प्राथमिकता दिइएको छ ।
कृषि क्षेत्रमा कृषकको उत्पादन संकलन तथा बिक्री वितरण, रैथाने बाली संरक्षण तथा प्रवर्द्धन जस्ता कार्यक्रम समावेश गरिएका छन् । शिक्षामा सामुदायिक विद्यालयहरूमा कक्षा १२ सम्म निःशुल्क शिक्षा र गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
स्वास्थ्य क्षेत्रमा शिविर सञ्चालन, विद्यालय नर्स कार्यक्रम, सुत्केरी, अपाङ्ग, जेष्ठ नागरिक र बालबालिकाका लागि लक्षित कार्यक्रम लागू गरिनेछ। भौतिक पूर्वाधारतर्फ नगरपालिकाको प्रशासनिक भवन निर्माण तथा वडा र अन्तरपालिका सडकको स्तरवृद्धि गरिने छ ।
योजना अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र भुसालका अनुसार बजेटले महिला, बालबालिका, अपाङ्गता भएका नागरिक, दलित, जनजाति तथा जेष्ठ नागरिकको समावेशी विकासमा ध्यान दिएको छ ।
साथै, पर्यटकीय स्थलहरूको विकास, सामूहिक खेती प्रवर्द्धन, स्थानीय सीप र उत्पादनको प्रोत्साहन, तथा न्याय सेवामा पहुँच अभिवृद्धिका कार्यक्रमहरू समावेश गरिएका छन् ।
नगरपालिकाका अधिकारीहरूले स्रोत सीमित भए पनि आवश्यकतामा आधारित र सहभागीमूलक बजेट निर्माण गरिएको जनाएका छन् । यस बजेटले भूमिकास्थान नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।