काठमाडौँ : भारत र बंगलादेशबीच आगामी महिना हुने भनिएको क्रिकेट ह्वाइट बल श्रृङ्खलाको छ वटा खेल सन् २०२६ सम्मका लागि स्थगित गरिएको दुवै देशका राष्ट्रिय क्रिकेट बोर्डले शनिबार जानकारी दिएका छन् । ढाकामा अगस्ट १७ देखि तीन एक दिवसीय र तीन टि-२० खेलको शृङ्खला सुरु हुने तयारी भएको थियो ।
गत वर्ष ढाकामा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि भारत र बंगलादेशबीचको राजनीतिक सम्बन्धमा चिसोपन आएको छ । बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले खेल शृङ्खलालाई सार्न सहमति जनाएका छन् ।
“अन्तर्राष्ट्रिय क्रिकेट प्रतिबद्धता र दुवै टोलीको तालिकाको सुविधालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो,” विज्ञप्तिमा भनिएको छ। बंगलादेशको बिसिबीले सन् २०२६ सेप्टेम्बरमा भारतलाई स्वागत गर्न आतुर रहेको बताएको छ ।
सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट हेलिकप्टरबाट भागेर नयाँ दिल्ली पुगेकी हसिनाको विषयलाई लिएर ढाकामा गहिरो आक्रोश छ ।
संयुक्त राष्ट्रसंघका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिकिराख्न गरेका असफल प्रयासका क्रममा प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि भएका झडपमा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।
बंगलादेशमा सन् २०२६ को सुरुमा चुनाव हुने अपेक्षा गरिएको छ ।