२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

नेपाल–चीन व्यापारिक मेला : डोल्पाको मायुम नाका साउन २५ गतेदेखि खुला गरिने

shivam cement
पूर्ण सार्की
२०८२ साउन ७ गते २०:४०
नेपाल–चीन व्यापारिक मेला : डोल्पाको मायुम नाका साउन २५ गतेदेखि खुला गरिने

डोल्पा : सदियौंदेखि चल्दै आएको नेपाल–चीनको परम्परागत व्यापारिक सम्बन्ध अन्तर्गत डोल्पा जिल्लाको १५ नम्बर सीमाक्षेत्रमा पर्ने मायुम नाका यही साउन २५ गतेदेखि औपचारिक रूपमा पुनः खोलिने भएको छ ।

कोभिड–१९ महामारीपछि ठप्प बनेको यो नाका अघिल्लो वर्ष पाँच वर्षपछि पहिलो पटक पुनः सञ्चालनमा आएको थियो । यस वर्ष पनि साउन २५ गतेदेखि नाका खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिएका छन् । उक्त निर्णय चीनको सिगात्चे काउन्टी अन्तर्गत डोङबा प्रान्तका अधिकारीहरूसँगको बैठकबाट भएको हो । 

गत वर्ष साउन १७ गतेदेखि १५ दिनका लागि नाका खोलिएको थियो भने यस वर्ष २० दिनसम्म सञ्चालन गरिने सम्भावना रहे पनि त्यससम्बन्धी अन्तिम निर्णय आउन बाँकी रहेको उपाध्यक्ष गुरुङले बताए ।

कोभिडपूर्व डोल्पाका क्याटो र मायुम दुवै नाका खोलिन्थे, तर हाल मायुम नाका मात्र सञ्चालनमा ल्याइएको छ । यात्रु तथा व्यापारिको हकमा अनिवार्य ‘प्रवेश तथा निकास पास’ अनिवार्य गरिएको छ । यो पास नबोक्नेहरूलाई प्रवेश अनुमति दिइने छैन भने अन्य जिल्लाबाट आउने व्यापारी तथा सर्वसाधारणलाई निषेध गरिएको छ ।

चीनले आफ्नो स्वचालित सुरक्षा प्रणालीका कारण अब त्तच् कोडयुक्त कम्प्युटर प्रिन्टेड प्रवेशपत्र आवश्यक पर्ने जनाएको छ । हातले लेखिएका पासहरूप्रति त्यहाँ समस्या देखिएको सरोकारवालाहरूको भनाइ छ ।

उपाध्यक्ष गुरुङका अनुसार नेपालतर्फबाट बजारमा बेच्ने कुनै सामान छैन, १०० प्रतिशत सामान चीनतर्फबाट मात्रै ल्याइन्छ । यसले हरेक वर्ष अर्बौं रुपैयाँ चीनतर्फ बगिरहेको छ । उनले यो नाका केबल स्थानीय वा प्रादेशिक तहको पहलले मात्र सम्भव नहुने भन्दै संघीय सरकारको स्पष्ट विदेश नीति र आर्थिक बहस आवश्यक रहेको धारणा व्यक्त गरे । 

चीनले आफ्नोतर्फ अध्यागमन, सडक, सुरक्षाकर्मी र आधुनिक चेकजाँच प्रणाली निर्माण गरिसकेको छ । तर नेपालतर्फ अझै पनि स्थायी भन्सार, सीमा प्रवेशद्वार र सुरक्षा संरचना अभावमा रहेको हुँदा व्यापारिक असन्तुलन देखिएको बताइएको छ । 

सन् २००८ को बेइजिङ ओलम्पिकपछि चीनले सीमा क्षेत्रमा सुरक्षा कडाइ गरेसँगै खुला सिमाना बन्द गरिएको थियो । त्यसअघि माथिल्लो डोल्पाका स्थानीयहरू तिब्बत रोजगारीमा जान्थे भने तिब्बतका नोम्याड (डोक्पा)हरू नेपालतर्फको शेल्री डुग्ड्रा तीर्थयात्रामा आउँथे। दुई देशका बीच वैवाहिक सम्बन्धसमेत हुने गथ्र्यो । 

सन् २००८ सम्म माथिल्लो डोल्पाबाट अधिकांश घरका सदस्यहरू तिब्बततर्फ मजदुरीमा जान्थे। कामको बदलामा भेडा, बाख्रा, चौँरीजस्ता पशु पाउँथे । ती पशुहरू तल्लो डोल्पा ल्याई खाद्यान्नसँग साट्ने परम्परागत प्रणाली (बार्टर सिस्टम) प्रचलनमा थियो । 

हालै डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काको टोली मायुम नाका पुगेपछि स्थानीयमा उत्साह देखिएको छ । उनीहरूको निरीक्षणबाट प्रशासनले नाकाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको विश्वास गरिएको छ ।

व्यापारिक मेला अवधिमा सुरक्षा अत्यन्तै महत्वपूर्ण हुने भन्दै स्थानीयहरूले तस्करी वा गैरकानुनी गतिविधिको सम्भावनालाई दृष्टिगत गर्दै कडाइका साथ चेकजाँचको माग गरेका छन् । केही व्यक्तिका कारण सबैको बद्नामि नहोस् भन्दै सबैलाई सचेत रहन आग्रह गरिएको छ । यस व्यापारिक मेलालाई यार्सागुम्बा लगायत बहुमूल्य जडीबुटी र दैनिक उपभोग्य वस्तुहरूको आदान–प्रदानको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise