रुकुमपूर्व : पछिल्लो समय रुकुमपूर्वका नागरिकहरुमा स्वास्थ्य बीमा प्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । उपचार खर्च आफै तिर्नु नपर्ने, न्यून शुल्कमा एक लाख रुपैयाँसम्मको औषधि र उपचार सुविधा पाउने भएपछि नागरिकहरू स्वास्थ्य बीमातर्फ आकर्षित हुन थालेका हुन् । स्वास्थ्य बीमा नहुँदा सामान्य औषधि सिटामोल किन्ने पैसा समेत तिर्नुपथ्र्यो । तर, बीमा गरेपछि नाम दर्ता गर्दा मात्र शुल्क लाग्ने र त्यसपछि विभिन्न स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने भएपछि नागरिकहरू स्वेच्छिक रूपमा बीमा गर्न थालेका छन् ।
२०७४ सालदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । त्यसयता हालसम्म ११ हजार ८ सय ८१ जनाले स्वास्थ्य बीमा गराएका छन् । सुरुमा अनाकर्षण देखिएपनि पछिल्लो समय धेरै नागरिक बीमा गरिरहेका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय रुकुमपूर्वका दर्ता अधिकृत सपना पुनले जानकारी दिए ।
भूमे गाउँपालिकाले अपाङ्ग, दीर्घरोगी र जेष्ठ नागरिक गरी २ हजार ५० जनाको निःशुल्क बीमा गराएको छ । त्यस्तै, ३ हजार १ सय ३ जनाले शुल्क तिरेर स्वास्थ्य बीमा गरेका छन् । सिस्ने गाउँपालिकामा १ हजार ५ सय ९० जनाको निःशुल्क तथा २ हजार २३६ जनाको शुल्क तिरेर बीमा गरेका छन् । पुथा उत्तरगंगा गाउँपालिकामा १ हजार १ सय ९० जना अशक्त नागरिकको निःशुल्क र १ हजार ६ सय २७ जनाको शुल्क तिरेर बीमा गरेका छन् ।
दर्ता अधिकृत पुनका अनुसार पाँच सदस्यीय परिवारले बीमा गर्दा वा नवीकरण गर्दा ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ । पाँचभन्दा बढी सदस्य भएको परिवारको हकमा अतिरिक्त सदस्यका लागि प्रतिव्यक्ति ७ सय रुपैयाँ थप्नुपर्छ । एक घरपरिवारलाई वर्षभरि १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा प्राप्त हुन्छ । पाँचभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य थप २० हजार रुपैयाँको सुविधा प्राप्त गर्ने प्रावधान रहेको छ ।
लक्षित वर्गका लागि निःशुल्क बीमा
‘क’वर्गका अपाङ्ग, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, कुष्ठरोग, क्षयरोग, एचआइभी संक्रमित बिरामी तथा महिला स्वास्थ्य स्वयंसेविका र उनीहरूको परिवारलाई बीमा शुल्कमा छुट वा निःशुल्क सुविधा दिने व्यवस्था छ । ‘सरकारले लक्षित वर्गलाई निःशुल्क बीमा गरिदिने, औषधि र उपचारमा सहज पहुँच सुनिश्चित गर्ने नीति लिएपछि नागरिकहरू बीमाप्रति आशावादी बनेका छन्’, पुनले भने ।