
भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले सोमबार आफ्नो ३१औं वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशालाको उद्घाटन गरेको छ ।
वि.सं. २०५१ सालमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, रोटरी क्लब, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा स्थापना भएको यो अस्पतालले देशभरका क्यान्सर बिरामीलाई गुणस्तरी उपचार सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रमको अध्यक्षता स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव तथा अस्पताल विकास समिति अध्यक्ष प्रा. डा. श्रीकृष्ण श्रेष्ठले गरेका थिए । प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम शर्मा रहेकी थिइन् । कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख र स्वास्थ्य क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेले ३१ वर्षको यात्राबारे जानकारी दिँदै उपचार सेवाको गुणस्तर, प्रयोगशालाको आधुनिकता र आगामी योजनाबारे प्रस्तुत गरे । उनले साँघुरो ठाउँका बाबजुद पनि अस्पतालले सेवामा कुनै सम्झौता नगरेको बताउँदै जग्गा प्राप्त भएपछि सुविधा सम्पन्न भवन निर्माणमार्फत सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई प्रशंसा पत्र, र उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई “लाइफ एचिभमेन्ट अवार्ड” र “बेस्ट डिसिप्लिनरी अवार्ड” प्रदान गरिएको थियो ।
प्रमुख अतिथि मन्त्री डा. सुधा गौतम शर्माले भक्तपुर क्यान्सर अस्पतालको प्रगतिलाई गौरवको विषय बताउँदै भनिन्, “अस्पतालले तीन दशकमा क्यान्सर उपचारको पहुँच विस्तार गरेको छ । अब सरकारले यसलाई राष्ट्रिय स्तरको ‘क्यान्सर एक्सिलेंस सेन्टर’का रूपमा विकास गर्न दीर्घकालीन योजना बनाइरहेको छ ।”
त्यसैगरी, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले अस्पतालले प्रदेशकै गौरव बढाएको उल्लेख गर्दै सेवा विस्तारका लागि प्रदेश सरकार सहकार्यका साथ अघि बढ्ने बताए ।
संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भक्तपुर स्वास्थ्य सेवा र सामाजिक चेतनाको केन्द्र बन्दै गएको बताउँदै भने, “स्वास्थ्यसँगै स्वच्छ वातावरण र जनचेतनामा पनि जोड दिनुपर्छ ।”
कार्यक्रममा भक्तपुर नगरप्रमुख जीवन खत्री, चाँगुनारायण उपप्रमुख रञ्जना जोशी, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललगायतको उपस्थिति थियो ।
अन्त्यमा अध्यक्ष डा. श्रीकृष्ण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै भक्तपुर क्यान्सर अस्पताललाई देशकै प्रमुख क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा अस्पतालको स्मारिका विमोचन समेत गरिएको थियो ।
हाल अस्पताल स्वास्थ्य मन्त्रालय मातहत १२३ शय्याबाट सेवा सञ्चालन गरिरहेको छ, जसलाई २०७७ कार्तिक २४ गतेको मन्त्रिपरिषद् निर्णयले “भक्तपुर क्यान्सर अस्पताल विकास समिति”का रूपमा स्वीकृति दिएको हो ।