काठमाडौंः नेपालका शीर्ष चार वरीयताका महिला र पुरुष खेलाडीले घरेलु भूमिमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एशियाली छनोट प्रतियोगिता खेल्न भएका छन् ।
नेपालसहित पाँच राष्ट्र सहभागी हुने साउथ एशियन रिजनल वल्र्डकप क्वालिफिकेसन आगामी बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । उक्त छनोटमा नेपाली महिला र पुरुष टेबलटेनिसको शीर्ष चार वरीयताका खेलाडीले चुनौती प्रस्तुत गर्न लागेका हुन् । अखिल नेपाल टेबलटेनिस संघले सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै यस छनोट प्रतियोगिताबारे जानकारी दिएको हो । पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनञ्जय दाहालले खेल्नेछन् । महिलामा वियन्का राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेलले चुनौती प्रस्तुत गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा मोहनदास बासुकला छन् ।
उनको प्रशिक्षण टोलीमा सञ्जीवकुमार ढुंगोल र सन्ध्या शाक्यले साथ दिनेछन् । दुईदिने छनोट प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । यो छनोट अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा नेपालमा हुन थालेको ठूलो प्रतियोगितामध्ये एक हो । यसअघि नेपालमै पेरिस ओलम्पिक र विश्वकपको क्वालिफिकेसन समान एक पटक भएको थियो । पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली क्षेत्रको छनोटबाट स्यान्टु श्रेष्ठ पहिलो हुँदै पेरिस ओलम्पिक खेल्न सफल थिए । तर, हाल अस्ट्रेलियामा रहेका स्यान्टुले यो छनोटका लागि नेपालबाट छनोट प्रतियोगिता भने खेलेनन् ।
प्रतियोगिता निर्देशकसमेत रहेका आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले छनोटका लागि सबै खेलाडीलाई सूचना दिइएको उल्लेख गरे । अखिल नेपाल टेबलटेनिस संघले अर्को ठूलो प्रतियोगितामा पनि नेपालमा गर्न लागेको हो । तर, यस छनोटमा भुटान र पाकिस्तानका खेलाडीको चुनौती रहने छैन । त्यसबाहेक नेपालसहित अन्य पाँच राष्ट्र ३४ खेलाडीले खेल्नेछन् । भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुनेछन् । नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सबाट समान आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो राउन्ड रोबिन लिगका आधारमा हुने संघका महासचिव सिंहले जानकारी दिए । छनोट प्रतियोगितामा पहिलो हुने पुरुष/महिला टोली विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।
विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ । तर, घरेलु मैदानमा हुने छनोटमा दोस्रो भएमा नेपालले विश्व च्याम्पियनसिप खेल्न अवसर पनि पाउनेछ । तर, भारतको उडिसामा अक्टोबर ११ देखि १५ तारिखसम्म हुने एशियन टिम टेबलटेनिस च्याम्पियनसिपमा भारतीय खेलाडी शीर्ष १२ स्थानभित्र रहँदा दक्षिण एसियाली छनोटमा दोस्रो हुने राष्ट्रले पनि इङल्यान्ड यात्रा गर्न पाउनेछ । संघका महासचिव सिंहले यस छनोट प्रतियोगिताका लागि करिब ३५ लाख खर्च हुने अनुमान गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सहयोगका लागि प्रयास भैरहेको बताए ।
अन्तर्राष्ट्रिय महासंघ एशियन टेबल टेनिस युनियनबाट पनि पाँच हजार डलर प्राप्त भएको उनले उल्लेख गरे । बाँकी रकम प्रायोजनबाट उठाउने संघको अपेक्षा छ । संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले यो छनोट प्रतियोगिता नेपाली टेबलटेनिसको ठूलो प्रतियोगितामध्येको एक रहेको र यसलाई राम्रोसँग आयोजना गर्ने विश्वास व्यक्त गरेका छन् ।